काठमाडौं । चालू आर्थिक वर्षको पाँच महिनामा खाने तेल (भटमास, पाम र सूर्यमुखी)को निर्यात तेब्बरले घटेको छ । अघिल्लो वर्षको तुलनामा चालू आवको पाँच महिनामा यी वस्तुको निर्यात तेब्बरले घटेर १८ अर्ब ८४ करोड रुपियाँमा झरेको छ । गत वर्ष पाँच महिनाको अवधिमा ६० अर्ब २७ करोड रुपियाँ बराबरको निर्यात भएको थियो ।
चालू आवको पाँच महिनामा पाम तेलको निर्यात ६० प्रतिशत घटेर १० अर्ब ८७ करोड रुपियाँको निर्यात भएको छ । खानामा बाहेक भारतमा खासगरी शृङ्गार सामग्री र साबुन उत्पादनका लागि पनि पाम तेल निर्यात हुने गरेको छ ।
भटमास तेलको निर्यात ७७ प्रतिशतले घटेर छ अर्ब ९८ करोड र सूर्यमुखी तेल ९० प्रतिशतले घटेर २२ करोड ३१ लाख रुपियाँको निर्यात भएको भन्सार विभागको तथ्याङ्क छ । विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको पाँच महिनामा मुलुकको समग्र निर्यात ३४ प्रतिशतले घटेर ६७ अर्ब ३० करोड रुपियाँको निर्यात भएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्