खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलामा गोरु जुधाई प्रतियोगीता आयोजना गरिएको छ । माघे संक्रान्तीका दिन गर्ने भनिएको गोरु जुधाई प्रतियोगीता बुधबार बाक्सिलास्थित पृथ्बी माविको प्रांगणमा आयोजना गरिएको हो ।प्रतियोगीतामा ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्क पातेलका तोरण बस्नेतको डुके नामको गोरु प्रथम, केपिलासगढी गाउँपालिका–६ दिप्सुङका रिमल राईको डुके गोरु दोश्रो र केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका उमेश बस्नेतको तारे गोरु तेश्रो भएका छन् ।
प्रथम, दोश्रो र तेश्रो स्थान प्राप्त गर्ने गोरुले क्रमशः २० हजार, १० हजार र पाँच हजार जितेका छन् । प्रतियोगीतामा केपिलासगढी गाउँपालिका र ऐसेलुखर्क गाउँपालिकाका नौ गोरुबीचमा प्रतिष्पर्धा गराइएको थियो । गत माघ १ गते माघे संक्रान्तीका दिन केपिलासगढीमा एलम्वर दिवस, त्रिबेणी लगायतका ठाउँमा मेला लाग्ने भएकाले सो दिन गर्ने तयारी गरिएको गोरु जुधाई प्रतियोगीता केही दिनपछि सारिएको हो । गोरु जुधाई प्रतियोगीता स्थानीय रामचन्द्र बिक र पासाङ घले गुरुङले आयोजना गरेका हुन् ।
किसानलाई स्वस्थ गोरु उत्पादनमा प्रोत्साहित गर्दै स्थानीयलाई मनोरञ्जन दिन गोरु जुधाई प्रतियोगीता आयोजना गरिएको हो । पहिलोपल्ट आयोजना गरिएको गोरु जुधाउने प्रतियोगीता हेर्नका लागि खेलमैदान आसपासमा स्थानीयको बाक्लो उपस्थिति देखिएको स्थानीय शिब राईले बताए । आगामी वर्षदेखि हरेक माघ २ गते बाक्सिलामा गोरु जुधाई प्रतियोगीता गर्ने आयोजकले जनाएको छ । मेला वा चाडको अवसरमा अन्य केही जिल्लामा गोरु जुधाउने प्रतियोगीता गरेझैं केपिलासगढीमा पनि गोरु जुधाउने प्रतियोगीता सुरु गरेको बिकले बताए ।
प्रतिक्रिया दिनुहोस्