सुर्खेत, । गत साउनमा जाजकोट जुनीचाँदे गाउँपालिका ५ की मनिषा गिरी सुत्केरी भइन् । प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटमा शिशुलाई जन्म दिइन् । स्वास्थ्य अवस्था सामान्य भएपछि घर फर्किइन् । स्वास्थ्य संस्थाले उनलाई सुत्केरी र गर्भवती जाँच तथा पोषण रकम गरेवापत भत्ता नदिएरै विदा ग¥यो । भत्ता लिनका लागि उनी तीन पटक स्वास्थ्य केन्द्रमा पुगिन् । तर गाउँपालिकाबाट भत्ता नआएको भन्दै रित्तो हात फर्किन बाध्य भइन् । उनले अहिलेसम्म पनि सुत्केरी भत्ता पाएकी छैनन् ।
पुस २२ गते जुनीचाँदे गाउँपालिका ४ कि विमला बिष्टपनि प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोट सुत्केरी भइन् । उनले पनि सुत्केरी र पोषण भत्ता पाइनन् । स्वास्थ्य केन्द्रले उनलाई पनि गाउँपालिकाले भत्ता नपठाएको भन्दै रित्तै फर्काइदियो ।
मनिषा र विमला मात्रै होइन् । गत असारदेखि जुनीचाँदेका कुनैपनि सुत्केरीले भत्ता पाउन सकेका छैनन् । सरकारले स्वास्थ्य संस्थामा सुत्केरी भएका हरेक आमाले दुई हजार प्रोत्साहन भत्ता, दुई हजार पोषण भत्ता र आठ पटकसम्म गर्भ चेकजाँच गराएमा प्रतिपटक एक सयका दरले आठ सय भत्ता पाउने व्यस्था छ । कुल चार हजार आठ सय रुपैयाँ सुत्केरी भएकै समयमा दिनुपर्ने व्यवस्था छ । तर जुनीचाँदेका आमाहरूले भने असारदेखि सुत्केरी भत्ता पाउन सकेका छैनन् । गाउँपालिकाले समयमै रकम निकासा नगर्दा सुत्केरीले भत्ता पाउन नसकेका हुन् ।
आर्थिक विपन्नता र अभावमा गुज्रिएका आमाहरूलाई सुत्केरी अवस्थामा पोषिलो खानका लागि सहयोग मिलोस् भन्ने उद्देश्यले सरकारले सुत्केरी र पोषण भत्ता दिँदै आएको छ । तर जुनीचाँदे गाउँपालिकाका ९८ जना सुत्केरीले भने समयै सुत्केरी भत्ता पाउन सकेका छैनन् ।
सुत्केरी भत्ता नपाएपछि विपन्न वर्गका आमाहरूले पोषिलो खानेकुरा खान पाएका छैनन् । सुत्केरी भत्तासँगै सरकारले गर्भवतीको सुरक्षाका लागि स्वास्थ्य संस्थामा नियमित गर्भ चेकजाँच गरेवापत भत्ता दिने व्यवस्था गरेको छ ।
राज्यबाट गर्भवतीलाई प्रसुती गृहमा सुरक्षित सुत्केरी गराउन प्रोत्साहनस्वरुप विभिन्न भत्ताको व्यवस्था गरेको हो । तर जनताको घरआँगनको सरकारको ढिलासुस्तीका कारण जुनीचाँदेका आमाहरूले समयमै सुत्केरी भत्ता पाउन नसक्ने वातावरण बनेको छ ।
सुत्केरी भएको सयममा पोषणयुक्त खानाका लागि भत्ता दिने नीति लिएको गाउँपालिकाले निर्धारित कार्यक्रम अनुसारको सुत्केरी र पोषण भत्ता वितरण गर्न सकेको छैन ।
सुत्केरी भएको समयमा भत्ता नपाएपछि पटक–पटक स्वास्थ्य संस्था जान बाध्य भएका छन् । ‘अहिलेसम्म त आइपुग्यो होला भनेर स्वास्थ्य चौकीमा जान्छौँ तर जहिले गएपनि भत्ता नआएको भन्दै फर्कादिन्छन्’ जुनीचाँदे ५ शन्तोसी गिरीले भनिन्, ‘घरआँगनको सरकार भएर के गर्नु गाउँपालिकाले हाम्रो पीडा बुझेन् ।’
असारमै सबै कागजात पेश गर्दापनि अहिलेसम्म भत्ता नपाएको सुत्केरीहरूको गुनासो छ । समयमै सुत्केरी भत्ता नआएका आमाहरूले फिल्ड गएका स्वास्थ्यकर्मीसँग पनि भत्ताको विषयमा सोधिखोजी गर्ने गरेका छन् । कतिपयले पटक–पटक फोन गरेर भत्ताका लागि बुझ्ने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।
रकम निकासामा भएको ढिलाइका कारण समयमै सुत्केरी भत्ता वितरण गर्न नसकेको जुनीचाँदे गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । चालु २०७९÷८० मा कसैलाई पनि सुत्केरी तथा पोषण दिन नसकेको स्वास्थ्य शाखा प्रमुख प्रेमबहादुर शाहीले बताए ।
भत्ताका लागि पालिकामा ९८ जना आमाहरूको फाइल आइपुगेका छन् । कार्यालयमा आएका कागजात जाँचबुझ गरेर तत्काल रकम निकाशा लागि प्रक्रिया अगाडी बढाएको शाहीले बताए ।
प्रतिक्रिया दिनुहोस्