काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले बढी ब्याजदर मागेपछि सरकारले ट्रेजरी बिल्स विक्री गर्न अस्वीकार गरेको छ । नेपाल राष्ट्र बैंकले सोमवार ३६४ दिन अवधिको लागि ७ अर्ब रुपैयाँको नयाँ ट्रेजरी बिल्सका लागि बोलकबोल आह्वान गरेको थियो । तर, बैंकहरूले यसअघि कायम भएको भन्दा अधिक ब्याजदर बोलकबोल गरेपछि विक्री गर्न सरकारले अस्वीकार गरेको हो ।
यसअघि गत पुस १९ गते जारी भएको ३६४ दिने ट्रेजरी बिल्समा ११ दशमलव ९३ प्रतिशत ब्याजदर कायम भएको थियो । सोमवार जारी गर्न लागेको ट्रेजरीमा त्यसभन्दा बढी ब्याजदरको बोलकबोल भएपछि विक्री नगरेको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए । ‘सरकारले कम ब्याजदरमा ऋण उठाउन चाहेको थियो,’ उनले भने, ‘बैंकहरूले पहिलेभन्दा दर बढाएपछि सरकारले विक्री नगरेको हो ।
’तर, सोमवार नै नवीकरणका लागि बोलकबोल गरिएको ९१ दिन अवधिको ट्रेजरी बिल्समा भने ब्याजदर घटेको छ । यही अवधिको अघिल्लो ट्रेजरी बिल्समा औसत १० दशमलव ५८ प्रतिशत ब्याजदर कायम भएकोमा सोमवार घटेर ९ दशमलव ८१ प्रतिशतमा झरेको छ । यो हालसम्मकै न्यून ब्याजदर हो । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस्