Ads

प्राङ्गारिक खेतीमा फर्कंदै किसान


काठमाडौं ।  खेतीको ठिक्क समयमा रासायनिक मल, बीउ र किरा नियन्त्रण गर्ने विषादी बजारमा नपाउँदा दिक्क भएका यहाँका किसान परम्परागत प्राङ्गारिक खेतीतर्फ फर्कंदैछन् । केही दशकअघि स्थानीय साधनस्रोतको प्रयोगले गरिने खेती दिगो हुने निष्कर्षसाथ जिल्लाको उत्तरी क्षेत्रका किसान परम्परागत प्राङ्गारिक खेतीतर्फ चासो बढाउन थालेका हुन् ।

बर्दिबास नगरपालिका–९ पशुपतिनगरका तरकारी उत्पादक किसान रामविनोद महतोले पाँच वर्षयता रासायनिक मल, किरा नियन्त्रण गर्ने विषादी र भारतीय बीउ प्रयोग गर्न छाडे । “मल, बीउ र किरा नियन्त्रणका औषधि आफैँ बनाउँछु”, महतोले भने, “आफैँले उत्पादन गरेको बीउबाट उत्पादित फसल पौष्टिक, प्राकृतिक स्वादको र सुपाच्य हुन्छ ।” प्राङ्गारिक खेतीपछि आफ्नो उत्पादन उपभोक्ताको पहिलो रोजाइमा पर्ने गरेको उनको भनाइ छ ।

तरकारी, तेलहन र उखुलगायतका नगदेबाली लगाइने जिल्लाको उत्तरी क्षेत्रका गाउँ/नगर बस्तीमा परम्परागत खनजोत र प्राङ्गारिक मलको प्रयोगबाट प्रशस्त उत्पादन हुन थालेको किसानको भनाइ छ । हरियो सागसब्जी र अन्य तरकारी बालीमा विषादीको प्रयोगले जनस्वास्थ्यमै प्रतिकूल असर पर्न थालेपछि सोको प्रयोग छाडिएको भङ्गाहा–४ रामनगरका  किसान नारायण दाहालले बताए । दाहालले वरपर पाइने वनस्पति र गाईको गहुँतबाट बालीमा लाग्ने किरा नियन्त्रणका औषधि बनाए ।

“बालीमा किरा लाग्ने र लाग्नसक्ने अवस्था सोचेर चरणचरणमा प्रयोग गरिने किटनाशक औषधि आफैँ बनाउँछु”, दाहालले भने, “सुरुका वर्ष किरा नियन्त्रणमा धेरैपटक औषधि प्रयोग गरेपनि क्रमशः यसको प्रयोग घटाउँदै लगिएको छ ।” यी औषधि विषादी नभएको स्पष्ट पार्दै यी ‘नाशक’ पनि नभएर ‘नियन्त्रक’ मात्र रहेको उनको भनाइ छ । प्रकृतिमा सबै किटपतङ्गको आआफ्नै महत्व रहेको हुँदा आफ्नो उद्देश्य तिनलाई मार्ने नभई बालीबाट भगाउने मात्र रहेको दाहालले बताए ।

दाहालले आपूmले बनाएका औषधिको नाउँ पनि धर्मग्रन्थबाटै रोजेका छन् । “ हेर्नोस् यो अग्न्यास्त्र, यो ब्रह्मास्त्र।।१” गाईको गहुँतमा विभिन्न वनस्पतिको झोल मिसाएर किरा नियन्त्रणका लागि बनाएको औषधिबारे दाहालले भने, “सागसब्जीमा लाग्नेलाई (एक खालको किरा) र अन्य किरा नियन्त्रण गर्न यी औषधि ‘रामवाण’ छन् ।” निम, रिठ्ठा र बगण्डीसहितका वनस्पति किट नियन्त्रण गर्न बनाइने औषधिका कच्चा सामग्री हुन् । गुइँठा, चिपरी र गोरहाको खरानी पनि बालीमा लाग्ने किरा भगाउन सकिने दाहालको भनाइ छ ।

झारपतिङ्गर, त्यतिकै मिल्किएका फोहर, मल बनाउन नै खेती गरिने ढैँचा (एक प्रकारको वनस्पति) र घरपालुवा गाईबस्तुको गोबर तथा बाख्राको बड्कुला मल बनाउन प्रयोग गर्न सकिने दाहालका छिमेकी धनेसी महतोले बताए । यस्तो मलले माटोलाई उर्बर बनाइराख्ने र वर्षैपिच्छे मात्रा केही घटाउँदै लान सकिने भएकाले प्रभावकारी बनेको किसान चन्देश्वर राय दनुवारको भनाइ छ ।

बालीलाई मल चाहिने बेला रासायनिक मलको हाहाकार हुने र तिनको गुणस्तरको यकीन नहुँदा उत्पादनमा प्रतिकूल असर पर्नेसँगै परनिर्भरता बढाएकाले आफूहरु परम्परागत प्राङ्गारिक खेतीतिर लागेको यस भेगका किसानको भनाइ छ । तरकारी, फलपूmल र अन्य बालीमा लाग्ने रोगब्याध र किरा नियन्त्रणका लागि गाईको गहुँत, खरानी र पानी छर्कने विधि अपनाउन थालिएको र यो निक्कै सफल भएको बर्दिबास–९ पशुपतिनगरका किसान ब्रह्मदेव महतोले बताए ।

प्राङ्गारिक खेती थालिएको वर्ष २०७० मा उत्पादन अलि कम भयो । पछि क्रमशः उत्पादन बढ्दै गएपछि खासै समस्या नभएको किसानको भनाइ छ । विधिबाटै गरिएको खेतीबाटै बाली उत्पादन भएको क्षेत्रबारे आम चासो र परिचय बढेपछि उपभोक्ताले बजार पुर्‍याउनासाथ आफ्नो सामान तत्काल किन्ने गरेका बर्दिबास–५ चेरुका परबल उत्पादक वाणिकराज काफ्लेको अनुभव छ ।

“हाम्रो बस्तीमा विषादी र रासायनिक मलको प्रयोगबिना नै परबल खेती हुन लागेको बजारु उपभोक्ताले थाहा पाएका छन्”, कृषि सेवाकै सहसचिव पदबाट निवृत भई सघन तरकारी खेतीमा लागेएका काफ्लेले भने, “हाँमीले बजारमा आफ्नो उत्पादन बिसाउनासाथ चारैतिरबाट ग्राहक झुप्पिएर तुरुन्तै लैजान्छन् ।” पछिल्लो चरणमा त व्यापारी घरघरै आएर उत्पादित फसल लग्न थालेपछि बजार पुर्‍याउने झन्झट घट्दै गएको छ ।

Ads

सम्बन्धित पोष्टहरू