Ads

यस्तो छ डा. चन्द्र भण्डारीको अहिलेको स्वास्थ्य अवस्था


काठमाडौं । गत बुधबार आफ्नै निवासमा ग्यासको स्पार्कबाट गम्भीर घाइते भइ उपचारारत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद डा. चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । बिहीबार एयर एम्बुलेन्स मार्फत भारतको मुम्बईस्थि नेशनल बर्न सेन्टरमा भर्ना गरिएका भण्डारीको स्वास्थ्यमा सुधार आएको हो ।

भण्डारीको पछिल्लो स्वास्थ्यय अवस्थाका बारेमा उनीसँगै मुम्बई गएको कांग्रेस नेता योगराज कँडेलले निरन्तर अपडेट दिइरहेका छन् । कँडेलले सामाजिक सञ्जाल मार्फत गराएको पछिल्लो अपडेट अनु्सार डा. भण्डारी स्वास्थ्यमा आएको सुधारसँगै खतरामुक्त भएका छन् ।

कँडेलले चिकित्सकको भनाइलाई उदृत गर्दै भनेका छन्– “मन आज यतिबेला अति नै प्रशन्न छ । आदरणीय चन्द्र दाजी खतरामुक्त हुनुहुन्छ । मन थाम्न नसके पछि केहीबेर अगाडि १० बजे आईसीयूमा पुगेर ड्युटी डा. प्रशान्त महाराणेलाई भेटी कुरा गर्दा सबै कुराहरु नर्मल रहेको जानकारी गराउनुभयो । प्रश्न गर्ने क्रममा मैले उहाँलाई सोधेँ उहाँ होसमा हुनुहुन्छ त ? क्याविन नम्बर ८ मा रहनुभएका चन्द्र दाईको क्याविनबाट तीनजना नर्सहरु निस्किए । मैले अगाडि रहेका डा. प्रशान्तले क्याविनबाट निस्कँदै गरेका नर्सलाई सोध्नुभयो बिरामी जागै हो ? उनीहरुले हो भने । डा. ले मलाई भन्नुभयो मन छ भने भेट भन्नुभयो । त्यसो भन्नासाथ नर्सले गाउन लिएर आइन् । नर्स म र डा. भित्र गयौैँ ।”

कँडेलले डा. भण्डारीको स्वास्थ्यमा आएको सुधारका कारण आफू अत्यन्त प्रसन्न भएको उल्लेख गरेका छन् । डा. भण्डारीले बोल्ने तथा हात र टाउको उठाउने चाहना राखेको भए पनि नसकेको उनले उल्लेख गरेका छन् । शुभचिन्तकहरुलाई निश्चिन्त रहनसमेत कँडेलले आग्रह गरेका छन् ।

उनी अगाडि लेख्छन् – “चन्द्र दाईले मलाई दुवै आँखाले लामो समय हेरेको हेर्यै गर्नुभयो । हात उठाउन खोज्ने, टाउको उठाउन खोज्ने धेरै कुरा गर्न मन गरेजस्तो भान हुन्थ्यो । अनि डा. र अन्य नर्सलाई हेर्नुभयो । मैले दाई हजुरलाई राम्रो भइरहेको छ । हामी यहीँ छौँ भने । मलाई पनि दाइलाई हेरेपछि मन कस्तो कस्तो भयो । अनि निस्कि हालेँ । दाइ खतरामुक्त हुनुहुन्छ साथै निश्चिन्त हुन सबैमा अनुरोध छ ।”

Ads

सम्बन्धित पोष्टहरू