Ads

अर्थमा जान कांग्रेसभित्र नेताहरुको दौडधुप चर्को


काठमाडौं । मन्त्रिपरिषद् विस्तारको तयारीसँगै सत्ता गठबन्धनको सबभन्दा ठूलो दल नेपाली कांग्रेसमा दौडधुप सुरु । अर्थ मन्त्रालयलगाएतका केहि मन्त्रालय कांग्रेसले पाउने भएपछि मन्त्रीका आकांक्षी नेताहरुको दौडधुप निकै बढेको हो ।

राष्ट्रपति चुनावमा माओवादीले कांग्रेसलाई सघाउने निर्णय गरेसँगै एमाले सरकारबाट बाहिरिएको छ । ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनपछि कांग्रेस सरकारमा जाने तयारीमा छ । माओवादी केन्द्रका एक पदाधिकारीका अनुसार ५ गतेसम्म उपराष्ट्रपति निर्वाचनको आचार संहिता नै लागू हुने कारण सरकार विस्तार गर्न मिल्दैन ।

त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने र सरकारलाई पूर्णता दिने तयारी छ । एक पदाधिकारी भन्छन्, ‘विश्वासको मत लिनुअघि सांकेतिक रुपमा केहीलाई सरकारमा सहभागी पनि गराउन सकिन्छ ।’

अहिलेसम्म कुन दलले कुनकुन मन्त्रालय लिने भनेर औपचारिक रुपमा छलफल सुरु भएको छैन । तर प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालय आफैंसँग राख्न चाहेकाले अर्थ मन्त्रालय कांग्रेसको भागमा पर्ने नेताहरु बताउँछन् ।

अर्थमा जान कांग्रेसभित्र नेताहरुको दौडधुप चर्को छ । महामन्त्री गगनकुमार थापा अर्थमन्त्रीका आंकाक्षी मानिएको थियो । महामन्त्री थापा आफैं पनि अर्थतन्त्रसँग जोडिएको छलफलहरुमा सहभागी भइरहेका छन् । तर उनले सार्वजनिक रुपमै मन्त्री नहुने घोषणा गरेका कारण उनको सम्भावना सकिएको छ । आफू मन्त्री होइन महामन्त्री भएको भन्दै उनले आइतबार एक कार्यक्रममा भने, ‘पाँच वर्षको लागि पाएको जिम्मेवारी सांसदको हो । न म अहिले मन्त्री बन्ने हो, न म अहिले बन्न मिल्छ ।’

कांग्रेस नेताहरुका अनुसार अब अर्थमन्त्रीको दौडमा प्रवक्ता डा. प्रकाशशरण महत, पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेता उदय शमशेर राणा छन् ।

पार्टी सभापति देउवाका विश्वास पात्र मानिएका डा. महत पनि अर्थमा आफ्नो दाबी स्वभाविक भएको बताउँछन् । ‘मैले अध्ययन गरेको विषयको आधारमा अर्थ मन्त्रालय चाहना राख्नु स्वभाविक हो’, उनले भने, ‘अहिले आर्थिक संकटको अवस्था छ । मन्त्रालयको जिम्मेवारी लिएर मात्रै हुने अवस्था छैन । आर्थिक संकटको चुनौती सामना गर्न म सक्षम छु ।’

पूर्व अर्थमन्त्री कार्कीले अर्थ मन्त्रालयमा आफ्नो दाबीबारे केही बोलेका छैनन् । तर उनले पार्टी नेतृत्वसँग निरन्तर लबिइङ गर्दै आएका छन् ।

पूर्व अर्थराज्यमन्त्री राणा पनि अर्थमन्त्रीमा आफ्नो दाबी रहेको बताउँछन् । ‘पूर्वअर्थराज्यमन्त्री भएकाले स्वभाविक रुपमा अर्थमन्त्रीमा दाबी रहन्छ, सभापतिसँग आफना कुरा राख्छु’, उनले भने, ‘तर मलाई दिनैपर्छ भनेर जिद्दी गर्दिन किनकी ८ दललाई मिलाएर लैजानुपर्नेछ ।’

कांग्रेस वृत्तमा नेता डा. शेखर कोइराला पनि मन्त्रीको आकांक्षी रहेको कतिपयले चर्चा गर्छन् । डा. शेखरले पनि बुधबार वर्तमान अर्थतन्त्रको सन्दर्भमा अन्तरक्रिया राखेको थिए । तर उनी निकट नेताहरु भने सरकारमा जाने वा नजाने, गए कुन मन्त्रालय लिने भन्ने कुनै छलफल नभएको बताउँछन् ।

कथं मन्त्रिपरिषद्मा सहभागी भए दलको नेतृत्व गरेर मात्रै जाने उनी निकट केन्द्रीय सदस्य सञ्जय गौतम बताउँछन् । ‘शेखर दाइको मनस्थिति सरकारमा नजाने जस्तै बुझ्छु’, गौतमले भने, ‘शेखर दाइ मन्त्री हुन गए पार्टीबाट नेतृत्व गरेर जानुहुन्छ, होइन भने जानुहुन्न ।’

कांग्रेस केन्द्रीय सदस्य एवं योजना आयोगका पूर्व उपाध्यक्ष गोविन्दराज पोखरेल अर्थतन्त्र संकटोन्मुख रहेकाले विषयको जानकार नभएको व्यक्तिले मन्त्रालय सम्हाल्दा देशले त्राण नपाउने बताउँछन् । ‘अन्तर्राष्ट्रिय क्षेत्रलाई विश्वासमा लिनसक्ने अर्थमन्त्री चाहिन्छ’, पोखरेलले भने, ‘देशभित्रका नागरिकमा आशा जगाउने पनि अर्थमन्त्री चाहिन्छ ।’

सामान्यतयाः अर्थ मन्त्रालय सम्हाल्ने ब्यक्तिले माओवादी नेतृत्वको सरकारमा कांग्रेसको नेतृत्व गर्नेछ । तर अहिलेसम्म सरकारमा ककसलाई पठाउने भन्ने विषयमा सभापति शेरबहादुर देउवाले मुख खोलेका छैनन् । एक पदाधिकारीका अनुसार उपसभापति पूर्णबहादुर खड्का अर्थमन्त्री हुने गरी पार्टीको नेतृत्व गरेर सरकारमा जाने सम्भावना पनि छ ।

Ads

सम्बन्धित पोष्टहरू