कञ्चनपुर । न्यायिक कार्यलाई छिटो छरितो, पारदर्शी र सर्वसाधारणको पहुँचमा पु¥याउन लागि शुक्लाफाँटा नगरपालिका मेलमिलापकर्ताको क्षमता अभिवृद्धिको काम अगाडि बढाएको छ । यसका लागि नगरपालिकाले आजदेखि तीनदिने पुनर्ताजगी तथा क्षमता अभिवृद्धि तालिम सञ्चालन गरेको छ । सर्वसाधारणलाई घरदैलोमै मेलमिलापका माध्यमबाट न्याय प्रदान गर्नका लागि मेलमिलापकर्ताको क्षमता अभिवृद्धि गर्ने काम सुरु गरिएको नगर उपप्रमुख कल्पना जोशी पन्तले बताए ।
“न्यायिक समितिमा आउने विवाद दर्ता गरिसकेपछि सिधै मेलमिलापका लागि वडामा सूचीकृत मेलमिलापकर्ता कहाँ पठाउने कार्य हुन्छ”, उनले भने, “मेलमिलाप हुन नसकेका विवादलाई वडाका मेलमिलापकर्ताले सिधै न्यायिक समितिमा सिफासि साथ पठाउनेछ, वडाबाट समितिमा पठाइएका विवाद समाधान नभए सम्बन्धित निकायमा पठाउँछौँ ।” यसअघि विवादको छिनोफानो न्यायिक समितिमार्फत हँुदै आएको थियो ।
“मेलमिलापकर्तालाई कोरोना सङ्क्रमणका कारण विगतमा वर्षमा पुनर्ताजगी तालिम दिन नसक्दा क्रियाशील पार्न सकेका थिएनौँ”, नगर उपप्रमुख पन्तले भने, “तालिमका माध्यमबाट क्षमता अभिवृद्धि गरी विवाद छिनोछानो गर्ने तौरतरिका, ऐन कानुनबारे जानकारी दिइ सक्षम बनाउने काममा जुटेका छौँ ।”
नगरप्रमुख रणबहादुर महराले न्यायिक समितिले क्षेत्राधिकारबारे प्रष्ट भएर विवादको छिनोछानो गरे न्यायसम्पादनको काममा सहजता हुने बताए । न्यायिक समितिका पूर्वसदस्य उत्तरदेव भट्टले गाउँ समाजमा परम्परागतकालदेखि नै मेलमिलापको काम हँुदै आएको बताए । परम्परागतकालदेखि हुँदै आएको मेलमिलापको कामलाई हाल कानुनीरुपमा बाँधेर व्यवस्थित मात्रै पारिएको उहाँले उल्लेख गरे ।
“मुखिया, प्रधान, गाउँका प्रमुख व्यक्तिले विगतमा पनि विवादको छिनोफानो गर्दै आएका हुन्”, उनले भने, “हाल त्यस कार्यलाई व्यवस्थित गरी जितजितको भावना विकसित हुनेगरी मेलमिलापका माध्यमबाट विवाद समाधान गर्नका लागि मेलमिलापकर्ता नियुक्त गरिएका छन् ।”
मेलमिलापकर्तालाई नगरपालिकको तर्फबाट यातायात भाडा र खाजा खर्च उपलब्ध गराउने व्यवस्था गरिनुपर्ने उनले बताए । वडाध्यक्ष शेरबहादुर साउदले लोकतान्त्रिक गणतन्त्र स्थापनापछिको नयाँ संविधान निर्माण भएपछि स्थानीय तहमा न्यायिक समितिको प्रावधान राखिएको बताए ।
प्रतिक्रिया दिनुहोस्