धनगढी। भाषा, साहित्य र संस्कृति संरक्षण, सम्वर्द्धनका लागि धनगढीमा तीनदिने विश्व नेपाली नारी साहित्य सम्मेलन सुरु भएको छ । सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा शुक्रबारदेखि सम्मेलन सुरु भएको हो । एक समारोहबीच सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सम्मेलन उद्घाटन गरेका छन् ।
तीन दिनसम्म चल्ने सम्मेलनमा नेपाल, भारत, भुटान, बर्मा लगायतका देशका साहित्यकार सहभागी छन् । उद्घाटन समारोहमा सुदूरपश्चिमका विभिन्न जिल्लामा मनाइने प्रख्यात सांस्कृतिक झाँकीहरु प्रस्तुत गरिएको छ । छलीया नाच, रानाथारु, डंगौरा थारुका सांस्कृतिक प्रस्तुति, बझाङ, दार्चुला, बैतडी, डडेलधुरा, डोटीबाट आएका कलाकारहरुले स्थानीय सांस्कृतिक प्रस्तुति गरेका थिए ।
देशभित्र र बाहिरबाट महिला साहित्यकारहरूको आगमन भइरहेसँगै धनगढी नारी श्रष्टामय बनेको हो । समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले साहित्यले समाजका थुप्रै समस्यालाई उजागर गर्दै समाधानतर्फ डोर्याइरहेको बताए ।
सुदूरपश्चिमाञ्चल साहित्य समाजले साहित्य कार्यक्रमहरुका माध्यबाट सुदूरपश्चिमसहित विश्व नेपाली समाजलाई जोडन खोजेको उनले बताए । ‘हाम्रो कला सांकृति, पहिचान, प्राकृतिक स्रोत र साधनको उपयोगमा साहित्यको ठूलो भूमिका छ,’ उनले भने । उनले प्रदेश सरकार सुदूरपश्चिम साहित्य समाजसंग सहकार्य गरेर जान तयार रहेकोसमेत उनले बताए ।
साहित्य क्षेत्रले यहाँको कला संस्कृतिलाई थप वृहत बनाउन मद्दत पुग्ने भन्दै उनले ‘साहित्य क्षेत्रसँग म जोडिएको छु र निरन्तर तपाईहरुसंग जोडिएर अगाडि बढन चाहन्छु ।’ धनगढीमा शुक्रबारदेखि सुरु भएको महोत्सव सोमबारसम्म चल्नेछ ।
प्रतिक्रिया दिनुहोस्