Ads

मिटरब्याज पीडितको अपराधी चिनाउने कार्यक्रम, गृहमन्त्रीसँग मात्र वार्ता गर्ने अडान


काठमाडौं । चक्रवृति तथा मिटर व्याजीलाई कारवाही गर्नुपर्ने माग सहित काठमाडौं आएका मिटरब्याजी पीडितहरुले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसंग मात्रै वार्ता गर्ने अडान राखेका छन् । बिहीबार गृहमन्त्रालका प्रवक्ता जितेन्द्र बस्नेत नेतृत्वको टोली मिटरब्याजी पीडितसंग वार्ता गर्न काठमाडौंको शान्तिवाटीका पुगेपनि उनीहरुले भने गृहमन्त्रीसंगै वार्ता गर्ने अडान राखेका हुन् ।

यसअघिको मिटरव्याजी पीडितसंग सरकारले गरेको सहमति र मिटर व्याजीलाई कारवाही गर्ने बिषयमा सरकारले गरिरहेको तयारीका बारेमा गृहका प्रवक्ता बस्नेत, काठमाडौंका प्रमुख जिल्ला अधिकारी, गृहमन्त्रीका सचिवालय सदस्य लगाएत शान्तिबाटीका पुगेका थिए । सुरुमा उनीहरुले मिटरब्याजी पीडितहरुको समस्या सुनेका थिए र सो क्रममा पीडितहरुले जाली तमसुक बनाएर आफुहरुलाई पीडा दिएको गुनासो गरे । आफुले वकिल राखेपनि वकिल नै मिटरब्याजीहरुसंग मिल्ने गरेको उनीहरुले बताए ।

पीडितहरुको गुनासो सुनेपछि गृह मन्त्रालयका प्रवक्ता बस्नेतले मिटरब्याजी पीडितहरुको समस्या सुन्न प्रधानमन्त्री र गृहमन्त्रीले पठाएको र आफुहरु माग पुरा गर्न सकारात्मक रहेको जानकारी गराएका थिए । उनले यसअघिको पीडितसंग भएको सहमति अनुसार मिटरब्याज सम्बन्धी उजुरीलाई प्राथमिकता दिनका लागि निर्देशन दिएको, समस्या समाधानका लागि सरकारले आयोग गठन गरेको बताएका थिए । उनले सरकारले सबै समस्या समाधान गर्ने भन्दै घर फर्कन आग्रह गरेका थिए ।

तर पीडितहरुले आयोगले कहिले काम गर्ने भन्ने थाहा नभएको भन्दै मिटरब्याजका लागि भएको तमसुक खारेज हुनुपर्ने बताएका थिए । मिटरब्याजलाई अपराध नै घोषणा गरे पनि यसलाई रोक्न राज्यले कुनै पहल नगरेको उनीहरुले बताएका थिए ।

उनीहरुले यसअघिको सहमति देखाएर राज्य पन्छिन नमिल्ने भन्दै सिघै गृहमन्त्रीसंग छलफल गर्ने अडान राखेका थिए । उनीहरुले पारदर्शी ढंगले शान्तिबाटीकामा नै वार्ता गर्ने भन्दै छिटो निकास निकाल्न आग्रह गरेका छन् । तमसुक तथा पीडितको जमिन फिर्ता गर्नुपर्ने, भूमि लिलामी बन्द गर्नुपर्ने लगाएतका माग राख्दै मिटरव्याजी पीडितहरुको अर्को समूह काठमाडौं आएको हो ।

Ads

सम्बन्धित पोष्टहरू