भक्तपुर । नयाँ वर्षको अवसरमा मध्यपुरथिमि नगरपालिकाले चार दिन सार्वजनिक बिदा दिएको छ । नयाँ वर्षमा यहाँ मनाइने ऐतिहासिक एवं सांस्कृतिक महत्वको बिस्काः अर्थात् बिस्केट जात्रा स्थानीयले आजदेखि भव्यरूपमा मनाउने भएपछि नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठका अनुसार यस वर्ष चैत ३० देखि वैशाख ३ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरिएको छ । हरेक नयाँ वर्षमा मध्यपुरथिमिमा भव्यरूपमा बिस्केट जात्रा मनाइन्छ ।
स्थानीय बासिन्दाका लागि यो ठूलो चाड हो । यहाँ वैशाख २ गते ३२ खट जात्रा भव्यरूपमा सिन्दुर खेलेर बोडेमा जिब्रो छेडेर ऐतिहासिक जात्रा मनाइन्छ । उनले भने, ‘स्थानीय तहले बिदा नदिँदा यहाँका बासिन्दाले चाड राम्रोसँग मनाउन पाएका थिएनन्, त्यसैले यस वर्षदेखि चार दिन बिदा दिने निर्णय गरेका हौँ ।
विस्केट जात्रालाई विशेषगरी भक्तपुर जिल्लाभरिमा नेवार समुदायले दशैँभन्दा ठूलो चाडका रूपमा मनाउने गर्दछन् । मठमन्दिरमा बलि पूजा गर्ने, विदेशमा रहेका आफन्त पनि बिस्केटलाई घर आउने र जात्रामा नातेदार, आफन्तलाई भोज खुवाएर नौ दिन आठ रातसम्म भव्यरूपमा मनाउने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्