काठमाडौं । घलेम्दी हाइड्रोपावरको नवौं वार्षिक साधारणसभा वैशाख १६ गते बस्ने भएको छ । सभामा कम्पनीले १ः२ अर्थात २०० प्रतिशत अनुपातमा हकप्रद सेयर जारी प्रस्ताव पेश हुनेछ ।
सांग्रिला ऊर्जा प्रा.लि. द्धारा प्रवद्र्धित संखुवासभामा रहेको छुजुङ खोला जलविद्युत् आयोजनामा लगानी गर्ने सञ्चालक समतिको निर्णयलाई कम्पनीले हकप्रद सेयर निष्कासन गरेपछि पारित गर्ने एजेन्डा पनि रहेको छ । सभाबाट अनुमोदन भएर नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएपछि प्रस्तावित हकप्रद सेयर निष्कासन प्रक्रिया अघि बढ्नेछ ।
सभा प्रयोजनका लागि कम्पनीले वैशाख ७ गते बुक क्लोज गर्ने भएको छ । सभामा सहभागी हुन वैशाख ६ गतेसम्म सेयरधनी कायम हुनुपर्छ । सभा, सासा ब्यांकेट नयाँबजार काठमाडौंमा बिहान १०ः३० बजेदेखि सुरु हुनेछ ।
सभामा आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।
प्रतिक्रिया दिनुहोस्