Ads

सेवा निवृत्त शिक्षकहरुका पेन्सन नरोक्न सरकारसँग अपिल


भक्तपुर । सेवा निवृत्त शिक्षक समाज भक्तपुरले निवृत्तिभरण निकासा नभएकोमा सरकारको ध्यानाकर्षण गराएको छ । आइतबार विज्ञप्ति प्रकाशित गरी समाजका अध्यक्ष अम्बिकामान मानन्धरले शिक्षकहरूको मात्र निवृत्तिभरण किन रोकिएको भनी प्रश्न समेत गरेका छन् ।

‘सेवा निवृत्त शिक्षकहरूलाई निवृत्तिभरण (पेन्सन) सरकारको सामाजिक दायित्वभित्र पर्छ । यो शिक्षक आन्दोलनका उपलब्धीहरूमध्येको एक हो । त्यसैले यसलाई नरोक्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ ।

विगतमा नियमितरूपमा प्राप्त भइरहेको निवृत्तिभरण २०७९ चैत महिना नाघ्दा पनि सरकारले निवृत्तिभरण निकासा नगरेको जनाइएको छ । यसले निवृत्तिभरणको भरमा जीवन निर्वाह गरिरहेका ज्येष्ठ नागरिक शिक्षकहरू प्रभावित भएका छन् ।  समाजले शिघ्रातिशीघ्र शिक्षकहरूको निवृत्तिभरण निकासाको लागि सरकारसँग अपिल गरेको छ ।

विज्ञप्तिमा के सरकार आर्थिकरूपले टाट पल्टेकै हो भन्ने प्रश्न गर्दै भनिएको छ, ‘यदि टाट पल्टेकै भए शिक्षकहरूको लागि मात्र निवृत्तिभरण किन रोकिन्छ ? के शिक्षकहरूलाई सरकारले विभेद गरेकै हो ?’

सरकारबाट शिक्षकहरूलाई विभेदपूर्ण व्यवहार नगरियोस् र निवृत्तिभरण यथाशीघ्र निकासा गरियोस् भन्दै विज्ञप्तिमा समाजको यो आग्रहलाई बेवास्ता गरे यसबाट उत्पन्न कुनै पनि स्थितिको जवाफदेही सरकार स्वयम् हुने चेतावनी पनि दिइएको छ ।

Ads

सम्बन्धित पोष्टहरू