Ads

विवादमा रोकियो मर्चवारीदेवी मन्दिरको निर्माण कार्य


रुपन्देही । रुपन्देहीको मर्चवारीदेवी मन्दिर निर्माण कार्य सम्पन्न नहुँदै विवादित बनेको छ। ऐतिहासिक मर्चवारीदेवीको प्राचीन शक्तिपीठ र निर्माणाधीन मन्दिर भवनमा राखिने गजुरको सम्बन्ध नमिल्ने देखिएपछि निर्माण कार्य रोकिएको छ।

निर्माण कम्पनीले ‘शक्तिपीठ’ लाई बेवास्ता गर्दै निर्माण कार्य अघि बढाएपछि विवाद सिर्जना भएको भन्दै मन्दिर व्यवथापन समितिका सचिव चन्द्रिका यादवले त्रुटि सच्याएपछि मात्र निर्माण कार्य अघि बढाउन सकिने बताए। ऐतिहासिक मर्चवारीमाई मन्दिर रुपन्देही जिल्लाको दक्षिणी क्षेत्र कोटहीमाई गाउँपालिका–६ र मर्चवारी गाउँपालिका–५ को सिमानामा स्थित छ। यिनै देवीको नामबाट मर्चवार क्षेत्रको नामकरण भएको जनविश्वास पनि छ ।

“यो शक्तिपीठ प्राकृतिक हो, यसको स्थापनाबारे कोही जानकार छैनौँ”, कोटहीमाई गाउँपालिकाका निवर्तमान अध्यक्ष चन्द्रभूषण यादवले भने, “तर छेवैमा रहेको राम जानकी मन्दिर २०४६ मा राजा वीरेन्द्रले दिएको एक लाख आठ हजार दान रकमबाट निर्माण भएको थियो।”

पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालय, पर्यटन डिभिजन कार्यालय रुपन्देहीद्वारा दुई करोड ५६ दाख ८८ हजार आठ सय १९ को लागतमा अहिले उक्त मन्दिर भवन निर्माणाधीन छ। २०८१ असार १६ गते निर्माण कार्य सम्पन्न गर्नेगरी २०७९ मङ्सिर ६ गतेको ब्रेभ कन्स्ट्रक्सनको ठेक्का समझौता छ।

ठेक्का समझौता लगत्तै पुस १ गतेदेखि निर्माण कार्य सुरु भएको उक्त मन्दिर भवनको संरचना बिग्रिसकेको देखिएपछि निर्माण कार्य वैशाखदेखि बन्द भएको मन्दिरका महन्त (पुजारी) शम्भु शरणदासले बताए। महन्त शम्भु शरणदासले मन्दिरको जग ढलान हुँदाको समयदेखि नै गजुरको बिचमा मर्चवारीमाइको शक्तिपीठ नपर्ने देखिएको ठेकेदारलाई बताए पनि कसैले वास्ता नगर्दा बिग्रिएको बताए।

मर्चवारीदेवी मन्दिरको भौतिक संरचना निर्माणका क्रममा त्रुटि भए पनि सँगै निर्माण भइरहेको रामजानकी मन्दिरको डिपीआरमै त्रुटि देखिएको उनले बताए । उनका अनुसार पूर्वस्थापित प्राचीन शक्तिपीठ, निर्माणाधीन मन्दिरमाथि राखिने गजुरको ठीक तल हुनुपर्ने हो, होइन भने मन्दिर र शक्तिपीठको कुनै मेल रहँदैन । निर्माण कम्पनी, मन्दिर व्यवस्थापन समिति, प्राविधिक र धार्मिक अध्येतालगायत सरोकारवालाले विचार–विमर्शबाट सच्याएर मात्र अघि बढ्नुपर्ने उनले सुझाए।

 

Ads

सम्बन्धित पोष्टहरू