Ads

टोपबहादुर रायमाझीको बयान सकियो


काठमाडौं । नेकपा (एमाले)का निलम्बित सचिव टोपबहादुर रायमाझाीको बयान सकिएको छ । नेपाली नागरिकहरलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रलोभनमा पारी प्रतिव्यक्ति १० लाखदेखि ५० लाखसम्म असुल्ने गिरोहमा संलग्न भएको आरोपमा आइतबार पक्राउ परेका रायमाझीको काठमाडौंको बबरमहलस्थित सरकारी वकिलको कार्यालयमा सोमबार राति बयान लिएर सकिएको हो ।

रायमाझीले सरकारी वकिल लक्ष्मण घिमिरे तथा न्यायाधीश केशवप्रसाद अधिकारीलाई आफ्नो बयान दिएका छन् । उनले आइतबार राति प्रहरी हिरासतमा थुनुवाले हल्ला गरेर सुत्नै नदिएको गुनासो पोखेका थिए । म्याद थपका लागि अदालत लग्दा रायमाझीले मुस्कानसहित अभिवादन गरेका थिए ।

तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति पाएपछि प्रहरीले उनलाई जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित गराएको थियो । त्यहाँ उनले रातभरि सुत्न नपाएर निन्द्रा बिग्रिएको गुनासो गरे । महानगरीय प्रहरी बृत्त सोह्रखुट्टेको हिरासतमा आफू रातभरि सुत्न नसकेको गुनासो उनको थियो । हिरासतमा राखिएका थुनुवा र बाहिरका मान्छेलेसमेत हल्ला गरेर सुत्नै नदिएको उनले बताएका थिए । उनले शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नभएको भन्दै इन्कारी बयान दिएको श्रोतले जानकारी दिएको छ ।

आइतबार राति पक्राउ परेका रायमाझीलाई सुरुमा जिल्ला प्रहरी परिसर काठमाडौं लगिएको थियो । त्यहाँबाट स्वास्थ्य परीक्षणका लागि राति नै तीनकुनेस्थित कान्तिपुर अस्पताल लगियो । त्यहाँबाट उनलाई हिरासतमा राख्न सोह्रखुट्टे बृत्त लगिएको थियो । त्यसबेलासम्म मध्यराति १२ बजिसकेको थियो ।

रायमाझी पक्राउ परेसँगै यो प्रकरणमा करोडौँ रकम ठगी गरेको अभियोगमा समातिनेको संख्या १३ पुगेको छ ।अहिलेसम्म नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत पक्राउ परिसकेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू