Ads

ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा


नवलपुर । उमेरले बुढ्यौली लागेपछि हिँडडुलमा समस्या हुने भए पनि गाउँघरमै स्वास्थ्य सेवा पाउँदा गैँडाकोटका ८६ वर्षीय नारायणप्रसाद सापकोटा दङ्ग हुनुहुन्छ । नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को गैँडाकोट नगरपालिका–८ कार्यालयले ज्येष्ठ नागरिकलाई लक्षित गर्दै घरदैलोमै स्वास्थ्य परीक्षणसहितको सेवा उपलब्ध गराएपछि उनी खुसी भएको हो ।

“उमेर ढल्किदै गएपछि हामीलाई यताउता हिँड्डुन गर्न समस्या भएको छ”, उनले भने, “यसरी वडा कार्यालयले टोलमै स्वास्थ्य सेवा दिन थालेपछि स्वास्थ्य परीक्षण गर्न र औषधि उपचारका लागि सहज भएको छ ।” गाउँमै स्वास्थ्यकर्मी आएर स्वास्थ्य परीक्षण गरी आवश्यक औषधि दिने गरेका सापकोटाले बताए ।

गैँडाकोट–८ कालिका टोलकी ८१ वर्षीया राममाया कँडेल यसअघि उपचारका लागि चर्को घाममा हिँडेर स्वास्थ्यचौकी तथा अस्पताल पुग्ने गर्थे । अहिले घरआँगनमै उपचार पाउँदा खुसी लागेको उनले बताए । “सामान्य उपचारका लागि हिँडेरै स्वास्थ्यचौकी वा अस्पताल पुग्थे”, उनले भने , “अहिले घरमै स्वास्थ्य जाँचको सुविधा पाएका छौँ ।”

यसैगरी गैँडाकोट–८ की ७९ वर्षीया मनरुपा सापकोटाले कालिका मन्दिर कालिका आश्रममा पुगेर बुधबार स्वास्थ्य परीक्षण गराउनुभयो । उहाँलाई स्वास्थ्यकर्मीले औषधिसमेत उपलब्ध गराए । “बल्ल स्थानीय सरकार रैछ भन्ने आभास भएको छ”, उनले भने ।

गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले ज्येष्ठ नागरिकको स्वास्थ्यप्रति पालिका सचेत रहेको बताए । उनले गैँडाकोट–८ मा सुरु भएको यो कार्यक्रम नगरका अन्य वडामा पुर्‍याउने गरी कार्यविधि निर्माण भइरहेको बताए । ज्येष्ठ नागरिकको स्वास्थ्यमा समस्या आउँदा अस्पताल पुर्‍याउन समस्या हुने भएकाले पालिकाले विशेषज्ञ चिकित्सकसहितको टोली घरमै पठाएर सेवा दिन थालेको उनको भनाइ छ ।

गैँडाकोट–८ का वडाध्यक्ष प्रेम सापकोटाले वडा कार्यालयको आर्थिक सहयोग एवं आधारभूत स्वास्थ्य केन्द्रको आयोजनामा वडाका हरेक टोलमा स्वास्थ्य शिविर सञ्चालन गरिने बताए । वडाले सञ्चालन गरेको स्वास्थ्य शिविरमा मात्रै नभएर अरु बेलामा पनि नियमित स्वास्थ्य परीक्षण गराउन उनले ज्येष्ठ नागरिकलाई आग्रह गरे । वडाका ११ वटै टोलमा पालैपाले नियमितरुपमा स्वास्थ्य शिविर सञ्चालन गरिने वडाध्यक्ष सापकोटाको भनाइ छ । शिविरमा रक्तचाप, मधुमेह, रुघाखोकी, ज्वरोलगायतका बिरामीलाई औषधिसमेत वितरण गरिएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू