Ads

प्रक्रियाबिना वैदेशिक रोजगारीमा पठाउन खोज्ने दुई विदेशी पक्राउ


काठमाडौँ ।  सरकारी अनुमतिबिना मनोमानी तरिकाले पोल्याण्ड लैजाने तथा त्यहाँको रोजगारीका बारेमा अभिमुखीकरण (सेमिनार) गर्न खोज्ने दुई जना विदेशी नागरिकलाई प्रहरीले शनिबार पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बेलारुस स्थायी ठेगाना भई काठमाडौँस्थित मेरियट होटल बस्दै आएकी ३० वर्षीया रिता फियाडोसिक तथा सोही ठाउँका ३७ वर्षीय ओलिग फियाडोसिक रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार पक्राउ परेकाहरूले सामाजिक सञ्जाल टिकटकमार्फत

विज्ञापन जानकारी गराई पोल्याण्डमा रोजगारीका बारेमा जेठ ६ र ७ गते सेमिनार गर्ने भनी शनिबार उक्त होटलमा हल बुक गरी ठूलो सङ्ख्यामा (अन्दाजी पाँच सय जना) नेपाली नागरिकको भेला गर्ने भनी सम्पूर्ण तयारी पूरा गरेको तथा सो विषयमा नेपालस्थित कुनै पनि सरकारी निकायलाई जानकारी नगराएको हुँदा निजहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

वैदेशिक रोजगार विभागसँग समन्वय गरी नियन्त्रणमा लिएका निज विदेशी नागरिकलाई वैदेशिक रोजगार विभागलाई जानकारी गराइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

Ads

सम्बन्धित पोष्टहरू