काठमाडौं । वाग्मती प्रदेश सरकारले पूराना सार्वजनिक सवारीसाधन संचालनमा रोक लगाएको छ। एक सूचना जारी गर्दै श्रम, रोजगार तथा यातायात मन्त्रालयले ३० वर्ष नाघेका विद्युतीय सवारीसाधन र अन्य सवारीसाधनको हकमा २० वर्ष नाघेकालाई थोत्रो गर्न आग्रह गरेको छ। वाग्मती प्रदेश सरकारले पूराना सार्वजनिक सवारीसाधनलाई थोत्रो गर्नका लागि आउन निर्देशन दिएको हाे।
श्रम, रोजगार तथा यातायात मन्त्रालयले ३० वर्ष नाघेका विद्युतीय सवारीसाधन र अन्य सवारी साधनको हकमा २० वर्ष नाघेकालाई थोत्रो गर्न बोलाएको हो। पुराना सवारी साधनले वातावरणमा मात्रै नभएर मानिसको प्रतिकुल जीवनमा समेत असर पार्ने भएकाले मन्त्रालयले यस्तो निर्देशन दिएको हो। मन्त्रालयले प्रदेशभित्रका सवारी तथा यातायात क्षेत्रको व्यवस्थापनको लागि जारी गरेको प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७५ को दफा १९ को उपदफा ४ ले यस्तो व्यवस्था गरेको बताएको छ।
२० वर्ष पूराना गाडीहरुको हकमा थोत्रो कायम गर्ने भन्ने संघीय सरकारको र प्रदेश सरकारको पनि कानुनमै भएकाले सरोकारवालाहरुलाई सूचना जारी गरिएको मन्त्रालयले जनाएकाे छ। यसका लागि सवारी धनीले यातायात कार्यालयहरुमा गएर राजस्व बुझाएर गाडी थोत्रो गर्नु पर्नेछ। त्यसपछि भने ती गाडी चल्न पाउने छैनन्। सार्वजनिक सवारीबाहेक निजी र अन्य सवारीको हकमा भने यो नियम लागू हुने छैन।
प्रतिक्रिया दिनुहोस्