Ads

अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइयो


काठमाडौँ । आज १६औँ अन्तरर्राष्ट्रिय सगरमाथा दिवस विभिन्न कार्यक्रमका साथ मनाइएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक सफल आरोहण भएको आज ७० वर्ष पुगेको अवसरमा विभिन्न कार्यक्रम गरी दिवस मनाइएको हो । सन् १९५३ मे २९ तारिख आजकै दिन तेञ्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले पहिलोपटक सगरमाथामा आफ्नो पाइला राखेका थिए ।

सोही आरोहणलाई स्मरण गर्दै सगरमाथा दिवस मनाइएको हो । दिवससँगै सगरमाथामा आरोहणको ७०औँ वषगाँठको सन्दर्भमा ‘प्लाटिनम जुब्ली’ पनि मनाइएको नेपाल पर्वतारोहण सङ्घ (एनएमए)ले जनाएको छ । सोह्रौँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा मूल समारोह समितिले नेपाल पर्यटन बोर्डमा आयोजना गरेको कार्यक्रममा सगरमाथा आरोहीलाई सम्मान गरिएको थियो । नेपाल पर्वतारोहण सङ्घको आयोजना तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पर्यटनसँग आबद्ध संस्थाहरुको समन्वयमा भएको कार्यक्रममा आरोहिलाई सम्मान गरिएको हो ।

सो अवसरमा एकसय सगरमाथा आरोहीलाई सगरमाथाको विशेष लोगो ‘सगरमाथा स्पेसल ब्याच’ प्रदान गरिएको थियो । कूल २८ पटक सगरमाथाको सफल आरोहण गरे विश्वकीर्तिमान कायम गर्ने कामीरिता शेर्पा, विश्वका १४ वटा अग्ला हिमाल दुई पटक आरोहण गर्ने कीर्तिमानी आरोही सानु शेर्पालगायत अन्य स्वदेशी तथा विदेशी आरोहीलाई लोगो प्रदान गरिएको हो ।

त्यसैगरी, कीर्तिमानी आरोही सानु शेर्पा, सगरमाथा नेशनल अवार्ड तथा सगरमाथाको २७ पटक आरोहण गर्ने पासाङ दावा शेर्पा, किशोर अधिकारी र पासाङ शेर्पालाई तेन्जिङ हिलारी अवार्ड प्रदान गरिएको थियो । पर्यटन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले आरोहीलाई अवार्ड वितरण गरेका थिए । सोही अवसरमा पर्यटन राज्यमन्त्री ठकुरीले ‘नेपाल पर्वत’ नामक स्मारिका विमोचन गनरेका थिए । कार्यक्रममा वसन्त ऋतुमा सगरमाथा आरोहणमा ‘रोप फिक्सिङ टिम’ डोरी टाग्ने समूह र उत्कृष्ट कम्पनीलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो ।

सो अवसरमा पर्यटन राज्यमन्त्री ठकुरीले सगरमाथा आरोहीलाई आरोहण ब्याच वितरण गरेर आरोहीप्रति सम्मान प्रकट भएको बताए । उनले पर्यटन उद्योगमा हिमालको महत्वपूर्ण भूमिका रहेको भन्दै हिमाल आरोहणलाई अझै व्यवस्थित र सुरक्षित बनाउनका लागि सगरमाथा बेस क्याम्पमा आधारभूत सुविधाको व्यवस्थापन, सडक, सञ्चार एवम् आपत्कालीन स्वास्थ्य उपचार लगायतका आधारभूत सुविधाहरु व्यवस्थित गरिनुपर्नेमा जोड दिए ।

पर्यटन विभागको तथ्याङ्कअनुसार अहिलेसम्म सात हजार आठ सय ५० भन्दा धेरैले सगरमाथा आरोहण गरिसकेका छन् । विश्वका १४ अग्ला हिमालमध्ये विश्वको सर्वोच्च हिमाल सगरमाथासहित आठवटा हिमाल नेपालमा रहेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू