काठमाडौं । नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्धाको सुनुवाइ आजको लागि तोकिएको छ । यसअघि न्यायाधीश फणीन्द्र पराजुलीको इजलासले पीडितको उमेरको विवादमा पेस गरेको जन्म मिति सम्बन्धी प्रमाण पुनः झिकाउन आदेश भएकोमा आज पनि सुनुवाइ तोकिएको हो ।
पीडितको उमेरसम्बन्धी विषयको टुङ्गो नलाग्दा यो मुद्दामा पटक पटक अन्तिम सुनुवाइका लागि पेसी तोकिए पनि सुनुवाइ स्थगित हुँदै आएको छ । लामिछानेविरुद्ध नाबालिग बालिकालाई बलात्कार गरेको आरोपमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा विचाराधीन छ । गत वर्ष भदौ ५ गते काठमाडौंको पिंगलास्थानस्थित होटल काठमाडौं इनमा राखी पटक–पटक बलात्कार गरेको भन्दै भदौ २१ गते जाहेरी परेको थियो ।
उक्त आरोपपछि केही समय सम्पर्कविहीन भएका लामिछानेलाई असोज २० गते प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको थियो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले कार्तिक १८ गते लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो भने उच्च अदालत, पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलाशले जिल्ला अदालतको आदेश उल्टाउँदै पुस २८ गते २० लाख धरौटीमा छोड्न आदेश दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्