काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको विषयमा परेको रिटको सुनुवाइ आजका लागि तोकिएको छ । जेठ १७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जान लागेका बेला नागरिकता विधेयक प्रमाणीकरण गरेर विवादित कदम चालिएको भन्दै परेको रिटको प्रारम्भिक सुनुवाइ आजका लागि तोकिएको हो ।
वरिष्ठ अधिवक्ताद्वय सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले शुक्रबार रिट दर्ता गराएका थिए । अघिल्लो संसद्बाट पारित भएको नागरिकता विधेयक प्रमाणीकरण गर्ने कार्य अवैधानिक भएको भन्दै प्रमाणीकरणलाई परमादेशको आदेशबाट बदर गर्न रिटमा माग गरिएको छ ।
त्यस्तै, विधेयकमा रहेका प्रावधानहरू समेतमा पुनरावलोकन गर्नुपर्ने भन्दै अदालतबाट अन्तरिम आदेश समेत माग गरिएको छ । राष्ट्रपति पौडेलले गत बुधबार विवादित नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए । यसको समर्थन र विरोधमा बहस भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्