धनगढी । जाँड रक्सीको नशा लागेकाले आफ्नै घरमा कतिसम्मको क्षति पुर्याउँछन् भन्ने कुरा धनगढीमा भएको एक घटनाले चरितार्थ गरेको छ। मादकपदार्थ सेवन गरेर नशामा लिप्त भएका धनगढी उपमहानगरपालिका–३ का वीरबहादुर विष्टले दुई दिनअघि आफ्नै पक्की घरमा आगो लगाएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार घरको बीच कोठामा निज विष्टले रातिको समयमा लगाएको आगोले कोठामा रहेको लत्ता कपडा, सोफसेट, बिजुलीको वाइरिङ तारलगायतका झण्डै ७० हजार मूल्य बराबरको मालसामान जलेर नष्ट भएको छ। प्रहरी र स्थानीयवासीको प्रयासमा राति नै आगो नियन्त्रणमा लिइएको थियो ।
यसैगरी दुई दिनयता प्रहरी टोलीले कैलालीको कैलारी गाउँपालिका मदनसिंह रानाको घर अगाडिको बारीमा लुकाइछिपाई राखिएको चार थान सालका गोलिया, कञ्चनपुर भीमदत्त नगरपालिका–११ मा भारतबाट भन्सार छली ल्याइएको ३५ हजार मूल्य बराबरको दाल, पेयपदार्थ र धनगढी उपमहानगरपालिकाको मिलन चोकबाट भन्सार छली गरी भित्र्याइएको रु ५० हजार मूल्य बराबरको मालसामान बरामद गरेको छ।
सुदूरपश्चिम प्रदेश प्रहरीले पछिल्ला हप्तामा सीमा क्षेत्रबाट हुने चोरी तस्करी, लागुऔषधको कारोबार जस्ता आपराधिक एवं अवाञ्छित क्रियाकलाप नियन्त्रणमा सक्रियता देखाएको छ । यसैबीच बैतडीको मेलौली नगरपालिका–५ को अर्जुन अदल्ले नामको भीरबाट खसेर आज सोही जिल्लाको पञ्चेश्वर गाउँपालिका–५ का शङ्करदत्त कलौनीका १९ वर्षीय छोरा प्रेम कलौनीको मृत्यु भएको पनि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
आगलागीले एक घर जलेर नष्ट
ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–४ लिङ्तेपमा आगलागीबाट एक घर जलेर नष्ट भएको छ। स्थानीय श्रीमान् लिम्बूको घर आगलागीले जलेर नष्ट भएको हो । आइतबार दिउँसो घरमा कोही नभएको समयमा भएको आगलागीबाट टिनको छानो भएको कच्ची घर जलेको मेरिङ्देन गाउँपालिका अध्यक्ष डम्बर हाङ्गामले जानकारी दिए। समयमा नै आगो नियन्त्रण नहुँदा घरसहित घरभित्र रहेका सम्पूर्ण घरायसी सामान पूर्णरूपमा जलेर नष्ट भएको बताइएको छ। क्षतिको विवरण भने एकिन भएको छैन।
आगलागीबाट मानवीय क्षति भने नभएको बताइएको छ। आगलागी पीडित परिवारलाई गाउँपालिकाले केही नगदसहितका राहत सामग्री वितरण गर्ने तयारी भएको अध्यक्ष हाङ्गामले बताए। विद्युत् सर्ट भई आगो लागेको हुन सक्ने अनुमान गरिएको छ। विद्युत् सर्ट भएरै केही दिनअघि फुङलिङ नगरपालिका पनि एक घर जलेर नष्ट भएको थियो । पछिल्लो समय यस जिल्लामा विद्युत् सर्ट भई आगलागीका घटना हुने क्रम उल्लेख्य रहेको पाइएको छ।
प्रतिक्रिया दिनुहोस्