विराटनगर । कोशी प्रदेश सरकारमा रहेको राप्रपाले एमाले नेतृत्वको सरकारको विकल्पबारे अहिले नसोचेको प्रष्ट पारेको छ । मुख्यमन्त्री हिक्मत कार्की, राप्रपा संसदीय दलका नेता तथा उद्योग कृषि तथा सहकारीमन्त्री भक्ति सिटौलासहितको छलफलमा कार्की नेतृत्वको सरकारको निरन्तरताको विकल्प नभएको निष्कर्ष निकालेको हो ।
बैठकमा राप्रपाका अरू प्रदेश सांसदसमेत सहभागी थिए । एमालेबाट प्रदेश मन्त्री, एमाले संसदीय दलका सचेतक र विराटनगरमा उपलब्ध केही प्रदेश सभा सदस्य सहभागी थिए । बैठकले बजेट नीति तथा कार्यक्रम ल्याउने बेलामा सरकार परिवर्तन गर्नु ठीक नभएको निष्कर्ष निकालेको हो ।
माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट मन्त्रीहरू फिर्ता गराउने तयारी गरिरहँदा माओवादीबाहेक सरकारमा रहेका दलहरूको बैठक बसेको हो ।
राप्रपा संसदीय दलका नेता तथा मन्त्री भक्ति सिटौलाले राप्रपाले यो सरकारको निरन्तरताबाहेक अरू नसोचेको बताए ।
उनले भने, ‘हामीले अहिले सरकार परिवर्तनका बारेमा सोचेका छैनौं । अरूले सरकार छाडे पनि नछाडे पनि राप्रपाले सरकार छाड्दैन । दिएको समर्थन पनि फिर्ता लिँदैन ।’
छलफलमा सहभागी सामाजिक विकासमन्त्री बुद्धिकुमार राजराजभण्डारीले सरकारको निरन्तरताका विषयमा राप्रपा सकारात्मक भएको बताए ।
कोशी प्रदेश सरकारमा एमालेसहित राप्रपा, माओवादी सहभागी छन् । सत्ता साझेदार माओवादीलाई सोमबार सरकारलाई दिएको समर्थन फिर्ता गर्न माओवादी केन्द्रले निर्देशन दिइसकेको छ । तर, माओवादी प्रदेश संसदीय दलको बैठकले सरकारबाट बाहिरिने औपचारिक निर्णय गरिसकेको छैन ।
सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने विषयमा हिजो बसेको माओवादी संसदीय दलको बैठक विनानिष्कर्ष सकिएको थियो ।
प्रतिक्रिया दिनुहोस्