बाँके । अत्यधिक गर्मीका कारण बाँकेमा सर्पदंशका बिरामी बढ्न थालेका छन् । गर्मी बढे्सँगै यहाँका भेरी अस्पताल, राँझास्थित सर्पदंश उपचार केन्द्र र शम्शेरगञ्जस्थित सर्पदंश उपचार केन्द्रमा पछिल्लो समय सर्पदंशको उपचारका लागि आउने बिरामी बढ्न थालेका हुन् ।
दैलेखका माधव आचार्यलाई कोहलपुरमा वैशाख ३१ गते करेट नाम गरेको सर्पले टोकपछि उनले नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार गराए । रोजगारीका लागि भारत जानका लागि यहाँ आएका ३७ वर्षीय आचार्यलाई आफन्तको घरमा राति भुइँमा सुतिरहेको अवस्थामा सर्पले टोकेको थियो । अस्पतालमा १४ दिन आइसियु र दुई दिन वार्डमा बसेर उहाँले उपचार गराउनुभएको उहाँका बुबा हेमलाल आचार्यले बताए । “माधव खतरामुक्त भएर घर फर्किए पनि अझै हिँड्डुल गर्न गाह्रो हुने गरेको छ”, उनले भने । उनका अनुसार छोरालाई अहिले पनि हातका औँला, हत्केला र पैताला जलन हुने गरेको छ ।
“खतरामुक्त भएपछि अस्पतालबाट डिस्चार्ज भएर घर त आयौँ तर छोराको अवस्था भने सामान्य छैन,” आचार्यले भने, “माधव पहिलाको जस्तो सजिलै हिँड्डुल गर्न सक्दैन । जतिखेरै हातका औँला, हत्केला र पैताला पोलिरहेको छ भन्छ ।” बुबा हेमलालका अनुसार माधवको जलन भएको ठाउँमा निरन्तर पानी पट्टि लगाउनुका साथै मसाज गरिरहनु पर्दछ । सर्पले टोकेपछि उपचारका लागि रू एक लाख २० हजार खर्च भएको बुबा हेमलालले जानकारी दिए । भेरी अस्पतालमा उपचार गराउँदा भित्रबाट पाइने औषधि, आइसियु र वार्डको खर्चमा अस्पतालले छुट दिएको उनको भनाइ थियो ।
कामको सिलसिलामा बर्दियाको बाँसगढीमा इँटाभट्टामा काम गर्ने भारतीय नागरिक मोहम्मद हनिदलाई राति सुतिरहेको अवस्थामा करेट सर्पले टोकेको थियो । तेइस वर्षीय मोहम्मदलाई जेठ २० गते राति सर्पले टोकेको थियो । पाँच दिनको उपचारपश्चात् उनी बिहीबार निको भई घर गएका छन् । घर फर्किएका मोहम्मदको पनि स्वाथ्य अवस्था सामान्य नभएको उनले काम गर्ने इँटाभट्टाका प्रमुख खगेन्द्र कँडेलले जानकारी दिए । उनका अनुसार मोहम्मदको बोलीमा स्पष्टता छैन भने हिँडाइमा पनि केही समस्या देखिएको छ ।
“अस्पतालबाट डिस्चार्ज भएर मोहम्मद यहाँ आएको तीन दिन भयो । अस्पतालबाट आएदेखि उसको बोली सुस्त छ”, प्रमुख कँडेलले भने, “उसले अहिले पनि औषधि खाइरहेको छ ।” उहाँका अनुसार मोहम्मदको उपचारमा रू ६२ हजार खर्च भएको छ ।
प्रतिक्रिया दिनुहोस्