Ads

विश्वासको मत लिएर मात्र बजेट ल्याउन मुख्यमन्त्री कार्कीलाई कांग्रेस, माओवादी, एसकाे आग्रह


विराटनगर । कोशी प्रदेशमा नेकपा माओवादी केन्द्र र जसपा सरकारबाट बाहिरीयसँगै समर्थन फिर्ता लिएपछि हिकमत कार्की नेतृत्वको सरकार अल्पमतमा परेको छ । हाल कोशी प्रदेश सरकारमा नेकपा एमाले र राप्रपा मात्र छ ।

यहिँ जेठ २३ गते नेकपा माओवादी केन्द्रले सरकार छाडेपछि मुख्यमन्त्री कार्कीलाई ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ । मुख्यमन्त्री कार्कीलाई
प्रतिपक्षी दलका नेताहरुले बजेट ल्याउनुअघि विश्वासको मत लिनुपर्ने ताकेता गरेका छन् ।

कोशी सरकारले बुधबार मात्र आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बजेट ल्याउने २ दिनअघि एमाले–राप्रपा सम्मिलित सरकारले प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो ।

प्रदेश प्रमुख परशुराम खापुङले बुधबार प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । प्रदेश प्रमुखले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि धन्यवाद ज्ञापनका लागि बसेको प्रदेशसभा बैठकमा विपक्षी दलका प्रदेशसभा सदस्यले विश्वासको मत लिएर मात्र बजेट ल्याउन मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई आग्रह गरेका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुले भने सरकार अल्पमतमा रहेकाले विश्वासको मत लिएर मात्र बजेट ल्याउन सरकारलाई आग्रह गरेका हुन् । नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेश उप्रेतीले नियमित प्रक्रियाबाट बजेट ल्याउन सरकारलाई आग्रह गरेका छन् ।

अल्पमतमा परेपछि पहिले विश्वासको मत लिनुपर्ने बताउँदै उनले अध्यादेशबाट बजेट ल्याउने हठ नराख्न मुख्यमन्त्रीलाई आग्रह गरे । उनले प्रदेशसभा बैठकको विकल्पमा नजान सरकारलाई आग्रह गरे ।

नेपाली कांग्रेसका प्रदेशसभा सदस्य केदार कार्कीले विश्वास गुमाइसकेको सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेर प्रदेशसभा र प्रदेश प्रमुखको अपमान गरेको टिप्पणी गरे । विश्वासको मत नपाई सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्नु गलत भएको भन्दै उनले अगाडि भने, ‘सरकारलाई कन्फिडेन्स छ भने आज र भोलि विश्वासको मत लिएर असार १ गते बजेट ल्याउने समय छ ।’

उनले विश्वासको मत नलिने भए सरकार छाड्नुपर्ने तर्क गरे । ‘बजेट ल्याउने समय छ, असार १ गते राति १२ बजेसम्म समय छ’, उनले भने, मुख्यमन्त्रीलाई भन्छु हिम्मत गर्नुहोस्, छैन भने छाड्नुहोस् ।’

नेकपा एकीकृत समाजवादी पार्टी कोशी प्रदेश संसदीय दलका नेता राजेन्द्र राईले विश्वासको मत लिएर मात्रै बजेट ल्याउन सरकारलाई आग्रह गरेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू