काठमाडौं । लामो कसरतपछि घोषणा हुन लागिएको समाजवादी मोर्चाको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ । मोर्चाको नेतृत्व सहभागी सबै दलबीच आलोपालो गर्ने सैद्धान्तिक सहमति जुटिसकेको हो ।
तत्काल पार्टी एकताको सम्भावना नभएपछि माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, विप्लव नेतृत्वको नेकपाबीच मोर्चा घोषणा हुने निश्चित भइसकेको जसपाका नेता राजेन्द्र श्रेष्ठले बताए ।
उनले भने, ‘माओवादी, जसपा, नेकपा एस, विप्लव नेतृत्वको नेकपाबीच मोर्चा घोषणा गर्ने निश्चित भइसक्यो । वामदेव गौतमको पार्टीलाई पनि ल्याउनेबारे छलफल भइरहेको छ । टुंगो भइसकेको छैन ।’
उनले मोर्चाको नेतृत्व शीर्ष नेताहरूले आलोपालो गर्ने बताएका छन् । उनका अनुसार ‘मोर्चाको संयोजक समिति हुन्छ त्यसमा प्रत्येक पार्टीबाट तोकिएबमोजिकमा व्यक्तिहरु रहने छन् । सुरुमा सबैभन्दा ठुलो पार्टी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मोर्चाको नेतृत्व गर्ने छन् । दोस्रोमा जसपाले, तेस्रोमा नेकपा एसहुँदै आलोपालो नेतृत्व हुन्छ ।’
उनले भोलि मोर्चा घोषणाको तयारी भइरहेपनि कहाँ कतिबेला भन्ने नटुंगिएको बताए । बाबुराम नेतृत्वको नेसपालाई मिलाउने जिम्मा माओवादीकै भएको बताए । उनले भने, ‘उहाँहरू गत चुनावमा पनि एउटै चुनाव चिन्हबाट लड्नुभएको हो ।’
यो मोर्चा घोषणा भएपछि प्रधानमन्त्री प्रचण्डले तत्काल ५४ सीटको नेतृत्व गर्नेछन् । प्रतिनिधिसभामा माओवादीको ३२, जसपाको १२ र नेकपा एसको १० सीट रहेको छ ।
प्रतिक्रिया दिनुहोस्