काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले सरकारमा रहेका र सरकार बाहिर रहेका कम्युनिष्ट दलबीच कार्यगत एकता असार ४ गते हुने बताएका छन् ।
समाजवादी प्रेस सङ्गठन नेपाल चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले असार १ गते घोषणा गर्ने भनिएको समाजवादी मोर्चा प्राविधिक कारणले केही दिन ढिला हुन पुगेको बताए । उनले यस विषयमा छलफल जारी रहेको जानकारी दिए । सरकारमा रहेका दलले सरकार सञ्चालनमा सहयोग गर्ने र बाहिर रहेका दलले बाहिरी वातावरण तयार गर्ने गरी मोर्चा गठन गर्न लागिएको उपाध्यक्ष पाण्डेले बताए ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपी पुर्पक्षमा जानुले भ्रष्टाचार विरुद्धको अभियान सुरु भएको उनले बताए । सुरुआतीमा पक्राउ परेका मात्रै नभई आरोपितलाई समेत कानुनी कठघरामा ल्याउनुपर्ने उपाध्यक्ष पाण्डेले पत्रकार सम्मेलमा जानकारी दिए । फरक प्रसङ्गमा उनले बजेट हरेक निर्वाचन क्षेत्र र जिल्लामा समानुपातीक हुन जरुरी रहेको बताए । अहिलेको बजेटमा विभेद देखिएको भन्दै यसलाई सच्याएर जानुपर्ने उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्