Ads

वर्षायाममा पनि नरोकिएको अवैध उत्खनन्


झापा, वर्षायाम शुरु भई सक्दा समेत पूर्वी तराईका विभिन्न खोला, नदीहरुमा हुने अवैध दोहन रोकिएको छैन । पूर्वी पहाडमा बाढी र प्रकोपले ठुलो विनाश निम्त्याई सक्दा पनि तराई क्षेत्रका खोला नालामा भने मेशिन सहित अवैध रुपमा ढुंगा, गिटी, रोडा निकाल्ने क्रम नरोकिँदा झनै जोखिम बढेको छ ।

समय समयमा स्थानीय तह, प्रहरी तथा प्रशासनको क्रियाशिलता बढ्ने गरेको भए पनि वर्षा शुरु भई सक्दा नरोकिएको उत्खनन्ले खोला–नदी किनारामा जोखिम थप बढाएको छ । यसै क्रममा उच्च उत्खनन् हुने गरेको झापाका विभिन्न खोलाहरुबाट प्रहरीले केहि दिन यता मेशिन, औजार सहित जेसीवी तथा ट्रिपर नियन्त्रणमा लिने क्रम बढाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाले केहि दिनयता खोला नदीहरुमा अवैध उत्खनन् भई रहेको पाएकाले सक्रियता देखाएको छ । यस अघि समेत झापामा क्रसर उद्योग र खोला नदी उत्खनन्को विषय पटक पटक बिवादमा आउने गरेको छ । अहिले त वर्षाको जोखिम समेत शुरु भई सकेकाले स्थानीय तह र सुरक्षा निकायले त्यस्तो कार्य रोक्न सक्रियता देखाएका हुन् ।

यन्त्र सहित खोलाबाटै उत्खननन्
वर्षायाम शुरु भई सक्दा समेत झापाका विभिन्न खोला नदीमा यन्त्र, उपकरण सहित अवैध रुपमा नदीजन्य सामाग्री उत्खनन् हुने गरेको पाईएको छ । केहि दिन यता प्रहरीले त्यस्ता स्थानमा मेशिन सहित ट्रिपर, ट्याक्टर पक्राउ गर्ने क्रम बढाएको छ । प्रहरीका अनुसार अवैध उत्खनन् भई रहेका स्थानहरुबाट नियन्त्रणमा लिईएका ति यन्त्र तथा ढुवानीका साधनलाई स्थानीय निकायहरुमा बुझाईएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शनिवार झापाको बुद्धशान्ति गाउँपालिका–१ को बिरिङ् खोलाबाट २ ओटा ट्रिपर समातिएका छन् । ना.७ ख.३६२६ र ना.५ ख. ६९९५ नम्बरका ति ट्रिपरबाट अवैध रुपमा उत्खनन् गरिएको ढुंगा, गिटी, रोडा निकाशी हुँदै गर्दा ईलाका प्रहरी कार्यालय बुधबारेको टोलीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालका अनुसार त्यसको एक दिन अघि मात्र तीन ओटा ट्रिपर र एउटा जेसीभी समेत प्रहरीले नियन्त्रणमा लिएको थियो । शुक्रबार अर्जुनधारा नगरपालिका ४ टाङ्टीङ् खोलाबाट नम्बर प्लेट नभएको जेसिभी र मे. १ ख. ३१५५, प्र.१–०१–००१ क ९२४, मे.१ ख २८४८ नम्बरका तीन ओटा ट्रिपर नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि अर्जुनधारा नगरपालिकाको कार्यालयमा बुझाईएको उनले जानकारी दिए ।

सदरमुकाम भित्रै दोहन
झापा सदरमुकाम भद्रपुर भित्रै पनि वर्षायाम लागि सक्दा अवैध उत्खनन् हुने गरेको भेटिएको छ । भद्रपुर ७ स्थित देउनिया खोलाबाट अवैध रुपमा खोलाजन्य सामाग्री निकालिँदा स्थानीय चिन्तित पनि बनेका छन् ।

स्थानीयको गुनासो पछि सो स्थानबाट समेत प्रहरीले ढुंगा, बालुवा निकाल्दै गरेको अवस्थामा चार ओटा ट्याक्टर नियन्त्रणमा लिएको छ । त्यहाँबाट प्र.१–०१–००१ त ८७६६, प्र.१–०१–००१ त ८०७४, मे.१ त ४८६२ र अर्को एक अल्फाबेट नखुेलेको ९९०४ नम्बरको ट्याक्टर नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक रिजालले जानकारी दिएका छन् ।

स्थानीय तहहरुले भने असार लागे पछि कुनै पनि प्रकारका सामाग्री खोला–नदीबाट उत्खनन् गर्न रोक लगाई सकेका छन् । तर प्रशासन तथा स्थानीय सरकारको आँखा छल्दै अवैध दोहन हुने क्रम नरोकिँदा सुरक्षा सक्रियता बढाएको पाईएको हो ।

Ads

सम्बन्धित पोष्टहरू