Ads

गोलभेँडा उत्पादक किसानहरूले ठुलो क्षति बेहोर्नु परेको बताउँदै राहत रकम प्रदान गर्न किसान महासंघको माग


काठमाडौँ । कृषि उपजहरूको समर्थन मूल्य निर्धारण गर्न अखिल नेपाल किसान महासंघले सरकारसँग माग गरेको छ । हाल बजारमा गोलभेँडाले उचित मूल्य नपाएको कारण गोलभेँडा उत्पादक किसानहरूले ठुलो क्षति बेहोर्नु परेको बताउँदै महासंघले समर्थन मूल्य निर्धारण गरी उक्त मूल्यमा अनिवार्य खरिदको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएको हो ।हाल गोलभेँडा उत्पादनमा क्षति भोगेका किसानको उत्पादनको वास्तविक तथ्याङ्क सङ्कलन गरी उनीहरूको लागतमूल्य बराबरको रकम राहत स्वरूप यथाशीघ्र प्रदान गर्न समेत महासंघले माग गरेको छ ।

महासचिव बाबुराम थापाद्वारा विज्ञप्तिमा भनिएको छ, ‘ किसानहरूको दैनिक जीविकोपार्जन प्रत्यक्ष प्रभावित भएको छ । कडा परिश्रम र उच्च लगानीबाट उत्पादित कृषि उपजहरूले लागत मूल्यसमेत नपाउने परिस्थिति बारम्बार दोहोरिनुले कृषि पेसा दिनप्रतिदिन जोखिमपूर्ण बन्दै गइरहेको प्रष्ट देखिन्छ । यसरी नेपाली किसानहरूले विभिन्न कारणबाट विभिन्न समयमा भोग्नु परिरहेको क्षतिप्रति अखिल नेपाल किसान महासंघ दुःख व्यक्त गर्दछ । किसानका समस्याहरूमा सरकारको शून्य जवाफदेहीताप्रति अखिल नेपाल किसान महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

’हाल उत्पादित गोलभेँडाको लागत मूल्य समेत प्राप्त नभइरहेको कारण कालीमाटी तरकारी तथा फलफूल विकास समिति र कृषि तथा पशुपन्छी मन्त्रालय लगायतका सम्बन्धित निकायमा आवश्यक क्षतिपूर्ति तथा दिगो समाधानको माग गर्दै पीडित किसानहरू पुगेका थिए । तर, सरकारले उक्त मागहरूप्रति बेवास्ता गरेको कारण आज २०८० असार ३ गते कालीमाटी बजार लगायतका स्थानमा किसानहरू गोलभेँडा सडकमा नष्ट गर्न बाध्य भएको महासंघले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू