Ads

यात्रुको ज्यान जोगाएका घाइते चालकको उपचारका क्रममा मृत्यु


हुम्ला । हुम्लामा सोमबार बिहान भएको जिप दुर्घटनामा घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ ।जिप दुर्घटना हुँदा गाडीबाट हाम फालेर बच्न सफल भएका चालक राजेशहेमजंग तामाङको जिल्ला अस्पताल हुम्लामा उपचारका क्रममा मृत्यु भएको हो । जनकपुर घर भएका चालक राजेशहेमजंग तामाङ हाम फालेका थिए ।

गम्भिर घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल सिमकोटमा ल्याइएको थियो । उनको उपचारका क्रममा जिल्ला अस्पताल हुम्लामा मृत्यु भएको हुम्लाका प्रहरी प्रमुख डिएसपी भीमलाल भट्टराईले बताए । आज बिहान सिमकोटबाट हिल्सा जाँदै गरेको जिप कर्णाली नदीमा खसेको थियो । हिल्साका लागि गएको कर्णाली प्रदेश ०३–१–०२२ च ५१२६ नम्बरको जिप च्याछहरा भीरको उकालो चढ्दै गर्दा कर्णाली नदीमा खसेको हो ।

सोमबार बिहान ५ बजे सिमकोटबाटहिल्साका लागि छुटेको जिप बिहान करिब ७ बजे उक्त भीरबाट खसेको प्रहरीले जनाएको छ । कामका लागि चीनको ताक्लाकोट जान सीमा पास बनाउन सदरमुकाम सिमकोट आएका लिमीका १२ जना यात्रु बोकेर उक्त जिप हिल्सा जाँदै थियो । च्याछहराको भीरमा अप्ठ्यारो उकालो बाटोका कारण यात्रुसहित जिप चढ्न नसक्ने भएपछि चालकले सबै यात्रु ओरालेका थिए ।

यात्रु बिनाको जिपलाई उकालोमा चढाउने क्रममा नदीमा खसेको थियो । चालकले अप्ठ्यारो बाटोमा यात्रु लिएर हिँड्ने जोखिम नउठाएकाले आफू मरेर पनि १२ जना यात्रुको ज्यान जोगाएर ठूलो मानवीय क्षति हुनबाट जोगिएको डीएसपी भट्टराईले बताए । जिप सामानसहित भीरबाट ५० मिटर तल कर्णाली नदीमा डुबेर बेपत्ता भएको छ । घटनास्थलदेखि तल नदीमा प्रहरी र स्थानीयबासी जिपको खोजी कार्यमा लागि रहेको प्रहरीले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू