Ads

नयाँ विकल्प : वनमै आहाल, वनमै आहारा


असार ५, २०८०
झापा\  झापामा मानव र हात्ती विचको द्वन्द्व दशकौं पुरानो समस्याको रुपमा रहेको छ । भारतबाट आउने बथान र रैथाने हात्तीको लस्कर समेत मानव वस्तिमा पस्दा यहाँका विभिन्न गाउँमा वर्षेनी ठुलो आर्थिक र मानवीय समेत क्षति हुने गरेको छ । यहि समस्या समाधानका लागि चर्को आवाजमा कराउने, थाल ठटाउने, खुर्सानीको धुँवा लगाउने, अधिक प्रकाश दिने बत्ति बाल्ने देखि विद्युतीय तार बार सम्मका विकल्पहरु उपयोग गरिएको छ ।

विभिन्न उपायहरु प्रयोग गरिए पनि समस्या समाधान नभए पछि पछिल्लो पटक नयाँ विकल्पको रुपमा अघि सारिएको छ, हात्तीका लागि वनमै आहाल, वनमै आहारा कार्यक्रम । प्राकृतिक आहार र आहालको अभावमा हात्ती मानव वस्तिमा प्रवेश गरेको हुन सक्ने ठहर गरि यो कार्यक्रम शुरु भएको हो । सोहि अन्तर्गत सामुदायिक वन क्षेत्रमा जलाशय निर्माण र हात्तीले पन पराउने बाँस तथा केराको बिरुवा लगाउन थालिएको डिभिजन वन कार्यालय झापाका सहायक वन अधिकृत ऋषिराम पराजुलीले जानकारी दिए ।

राष्ट्रिय वन विकास कार्यक्रमअन्तर्गत झापाको कचनकवल–३ स्थित दुर्गाभिट्टा सामुदायिक वन र बाह्रदशी–१ साधुपर्ती सामुदायिक वन हाताभित्र दुई वटा पोखरी निर्माण गरिएको छ । १० लाखको लागतमा ती पोखरी निर्माण गरिएको हो । हात्ती र अन्य वन्यजन्तुलाई पानी खान र आहाल बस्न सहज होस् भन्ने उद्देश्यले पोखरी निर्माण गरिएको उनले बताए ।
अन्य वनमा पनि विस्तार
हात्तीबाट हुने क्षती नियन्त्रणका लागि ल्याईएको यो विकल्प अन्य वनमा पनि विस्तार हुने क्रममा रहेको छ । जिल्लाका अन्य आठ वटा समुदायिक वनमा चार हजार बाँस र दुई हजार आठ सय केराको बिरुवा लगाउन थालिएको छ । बिरुवा रोप्न खाल्डो खनेर तयारी अवस्थामा राखिएको डिभिजन वन कार्यालय झापाकी अधिकृत रञ्जना पुरीले बताएकी छन् ।

जिल्लाको मनकामना सामुदायिक वनमा बाँसका बिरुवा एक हजार र केरा आठ सय, साधुपर्ती सामुदायिक वनमा बाँस एक हजार र केरा चार सय ६०, पूर्व देउराली सामुदायिक वनमा चार सय केरा, पाथीभरा कालिका सामुदायिक वनमा बाँस आठ सय र केरा दुई सय, दियालो सामुदायिक वनमा बाँस दुई सय र केरा चार सय, विशाल सामुदायिक वनमा बाँस चार सय, दुर्गाभिट्टा सामुदायिक वनमा केरा चार सय र मायालु सामुदायिक वनमा बाँस छ सय र केरा दुई सय वटा बिरुवा लगाइने छ ।

वन क्षेत्रमा बाँस र केरा लगाउन १५ लाख रुपैयाँ बजेट प्राप्त भएको कार्यालयले जनाएको छ । आहाराको खोजीमा हात्तीलगायतका वन्यजन्तु वन आसपासका गाउँ बस्तीमा पस्ने भएकाले वन क्षेत्रमै आहाराको व्यवस्थापन गर्न लागिएको हो । यसबाट मुख्यतः मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्न मद्दत विश्वास लिइएको छ ।
बिगतका अभ्यास
हात्ती नियन्त्रणका लागि विगतमा परम्परागत देखि आधुनिक सम्मका अभ्यासहरु अपनाईएको छ । खासगरि पूर्वोत्तर झापाका बाहुनडाँगी, शान्तिनगर लगायतका बस्तिमा हात्तीको बथान गाउँ पस्न नदिने अग्ला अग्ला टुङ् निर्माण गरि त्यस माथिबाट निगरानी गर्ने, चर्को आवाजमा कराउने, थाल ठटाउने, खुर्सानीको धुँवा लगाउने, अधिक प्रकाश दिने बत्ति बाल्ने देखि विद्युतीय तार बार सम्मका अभ्यासहरु भई सकेका छन् ।

नेपालका जंगलमा रैथाने हात्तीको संख्या कम भए पनि भारतको आसाम देखि आउने बथानले बढि क्षती पु¥याउने गरेको ठहर गरि २०७२ सालमा निर्माण गरिएको विद्युतीय तारबार पछि भने समस्या धेरै हद सम्म नियन्त्रण भएको थियो ।

त्यस क्रममा नेपाल भारत सिमानाको मेची नदी किनारमा १८ किलोमिटर सोलार फेन्सिङ् निर्माण गरिएको थियो । त्यस पछि भारतबाट आउने हात्तीको संख्यामा कमि आए पनि रैथाने हात्तीको समस्या क्रमिक रुपमा बढ्दै जाँदा पुनः समस्या जटिल बन्दै गएको हो ।

Ads

सम्बन्धित पोष्टहरू