Ads

माओवादीको माथिल्लै तहको नेताहरुबाट ज्यान मार्ने धम्की आएको भन्दै मानव अधिकार आयोगमा पूर्वबाल लडाकु


काठमाडौं । पूर्वबाल लडाकुहरुले राष्ट्रिय मानव अधिकार आयोग समक्ष आफूहरुको मानव अधिकारको सुरक्षा हुनुपर्ने माग गर्ने भएका छन् । आफूहरुलाई नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष रहेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पक्षका नेता तथा कार्यकर्ताहरुबाट ज्यान मार्नेसम्मको धम्की आएको भन्दै उनीहरु आयोग गुहार्न पुगेका हुन् ।

पूर्व बाल लडाकु लेनिन विष्टले माओवादीको माथिल्लै तहको नेताहरुबाट आफूहरुलाई ज्यान मार्ने धम्की आएको बताए । न्युजहाउस नेपालसँग कुराकानी गर्दै विष्टले आफूहरुले न्यायका निम्ति सर्वोच्च अदालतमा मुद्धा दायर गरेको उक्त मुद्धा फिर्ता लिन र नलिएमा राम्रो नहुने भन्दै बारम्बार मानसिक तनाब दिएको बताए । प्रचण्ड र बाबुराम नेतृत्वको पार्टीमा आवद्ध नेताहरुले धम्की दिएको दाबी गरे पनि कुन नेताले धम्की दिएको हो भन्ने बारेमा चाहिँ खुलाएनन् ।

उनले आफूहरुको हातखुट्टा भाँच्नेदेखि ज्यान मार्नेसम्मका धम्कीहरु बारम्बार आइरहेको दाबी गरे ।  ततकालीन बिद्रोही माओवादीले आफूसहितका अन्य बालबालिकालाई पनि दुरुपयोग गरी युद्धमा होम्याएको र अहिले आएर अयोग्य लडाकुको ट्याग भिराएर अपमान गरेको एवम् आफूहरुको सुन्दर भविष्यमाथि खेलबाड गरेकोले न्यायको लागि अदालत गुहारेको बताए । उनले मानव अधिकारको रक्षाको माग गर्दै अहिले आयोग जान लागेको जानकारी दिए ।

Ads

सम्बन्धित पोष्टहरू