Ads

अनुदानमा कृषियन्त्र वितरण


देउखुरी । कृषि उपजको उत्पादन वृद्धि गर्ने र लागत घटाउने उद्देश्यले दाङको घोराही उपमहानगरपालिकाले किसानलाई अनुदानमा कृषि औजार वितरण गरेको छ । पालिकाले पचास प्रतिशत अनुदानमा ३६ पावर टेलर, २० मिनी पावर टेलर, एउटा रोडाभेटर र दुई वटा थ्रेसर मेसिन उपलब्ध गराएको हो ।

कृषिमा यान्त्रिकरणको सहायताले उत्पादन बढाउने र किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले अनुदानमा कृषि औजार वितरण गरिएको घोराही उपमहानगरपालिका कृषि विकास शाखा प्रमुख चोपनारायण खनालले जानकारी दिए । उनका अनुसार ५० प्रतिशत अनुदानमा विभिन्न उपकरणका साथै ८५ प्रतिशत अनुदानमा ११ वटा पम्पसेट र १२ वटा मोटर हस्तान्तरण गरिएको छ ।

दाङको घोराही–२ सुनपुरका तिलक चौधरीले गोरुको सहायताले १५ कट्ठा जमिन जोत्दै आएका थिए । यसअघि उनलाई खेती गर्न समस्या परेको थियो । एकातिर गोरुको स्याहार गर्नु पर्ने र अर्कोतिर खेतबारीमा काम गर्नुपर्ने भएकाले समय व्यवस्थापनलगायत काममा उनलाई गाह्रो भएको थियो । “एक हल गोरुले दिनभरी जोतेर खेती गर्नुपर्ने बाध्यता अब हटेको छ । पालिकाले पचास प्रतिशत अनुदानमा पावर टिलर दिएपछि खुसी लागेको छ । कृषि यान्त्रिकरणले समयको बचत हुनुका साथै काम गर्न पनि सहज भएको छ”, किसान चौधरीले भने ।

घोराही–९ कर्मटुवाका कलमती चौधरीले खेती गर्दा दुई हल गोरुको सहायता लिने गरेको बताए । एक बिघा पाँच कट्ठा जमिन जोतेर खेती गर्न उनलाई गाह्रो भएको थियो । उपमहानगरपालिकाले किसानलाई अनुदानमा कृषियन्त्र वितरण गर्ने सूचना थाहा पाएपछि उनले आवश्यक कागजपत्र पेस गरे । कलमतीले पावर टेलर अनुदानमा लैजान लागेको जानकारी दिए । गोरुले जोत्ने गरेकोमा अब मेसिनको प्रयोगले खेती गर्न सजिलो हुने उनको भनाइ थियो । “आफ्नो खेती सकियो भने अरुको खेती जोतेर पैसा कमाउने पनि सकिन्छ”, उनले भने ।

Ads

सम्बन्धित पोष्टहरू