काठमाडौं । सिनेमा हल व्यवसायीले काठमाडौं महानगरपालिकाका मेयर बालेनबालेन्द्र शाहविरुद्ध अदालतमा मुद्दा दायर गरेका छन्। ।
उनीहरूले आज उच्च अदालत पाटनमा मुद्दा दायर गरेका हुन्।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले हिन्दी चलचित्र आदिपुरुषको सीता भारतीय छोरी हुन् भन्ने आशयको संवाद नहटाएको भन्दै महानगरपालिकाभित्रका हलमा हिन्दी चलचित्र प्रदर्शनमा रोक लगाएका थिए । बालेनको उक्त निर्णय कानुन विपरीत भन्दै सिनेमा हल व्यवसायीहरु अदालत गएका हुन् ।
मुद्दा दायर हुनु केही समयअघी काठमाडौं महानगरपालिका शैक्षिक मामिला सल्लाहकार रेशु अर्यालले मेयर बालेन शाहका पछिल्ला गतिविधिप्रति असहमति जनाउँदै राजीनामा दिइन ।
अर्यालको राजीनामाको वास्तविक असन्तुष्टि भने काठमाडौं महानगरपालिकामा भारतीय चलचित्रमाथि रोक लगाइएको विषयमा रहेको बुझिएको छ । उनका श्रीमान भास्कर ढुंगाना सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सका सञ्चालक हुन ।
श्रीमान नै हलमालिक हुँदा उनलाई मेयरको निर्णयले नैतिक अप्ठेरोमा पारेको थियो । श्रीमान महानगरविरुद्ध अदालत जाने, अनि श्रीमती मेयरको सल्लाहकार रहिरहने कुरा व्यवहारिक रुपमा सम्भव नभएपछि रेशुले राजीनामा दिएको स्रोत बताएको छ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेनले सोमबारबाट कामपाभित्रका सिनेमा घरमा ‘आदिपुरुष’लगायत हिन्दी सिनेमा चलाउन नदिने बताएका थिए । सोही दिनबाट कामपा भित्रका सिनेमा घरमा हिन्दी सिनेमा रिलिज भएका छैनन ।
अर्याललाई महानगरको कार्यपालिका वैठकले गत भदौमा शिक्षा सल्लाहकार नियुक्त गरेको थियो । उनी विगत १० वर्षदेखि शिक्षा क्षेत्रमा क्रियाशील छिन् । टिच फर नेपालको बोर्ड सदस्य र पाँच वर्ष अध्यक्ष समेत रहेकी उनले कोलम्बिया विश्वविद्यालयको टिचर्स कलेजबाट स्नातकोत्तर गरेकी छन ।
प्रतिक्रिया दिनुहोस्