Ads

७६ जिल्लामा फैलियो लम्पी स्किन रोग, २१ हजार भन्दा बढी पशुको मृत्यु


काठमाडौं । ७६  जिल्लाका घरपालुवा पशुमा लम्पी स्किन रोगको महामारी फैलिएको छ । त्यसबाट छ लाख आठ हजार पशु सङ्क्रमित हुँदा २१ हजार चार सयभन्दा बढी पशु मरेका छन् ।कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बिहीवारको बैठकमा मन्त्री बेदुराम भुसालले महामारीकै रूप लिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोपको व्यवस्था भइरहेको जनाए । सिड भाइरस ल्याएर खोप उत्पादन गर्ने सोच रहेको पनि उनले जानकारी दिए ।

किसानलाई आवश्यक मल खरिदका लागि सरकारले रु ३० अर्ब सुनिश्चत गरिसकेको जानकारी दिँदै मन्त्री भुसालले मूल्य र कच्चा पदार्थका कारण मल कारखाना खोल्ने निष्कर्षमा नपुगेको तर मल कारखानाको अध्ययन गर्न तीनवटा कम्पनीले गरिरहेको समेत उनले बताए । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले कृषि मन्त्रालयसँग सम्बन्धित विषयमा देखिएको समस्या र समाधानका सम्बन्धका कृषि तथा पशुपक्षी विकासमन्त्री र सचिवसँग छलफल गरेको हो ।

सो अवसरमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले पशु सेवा विभागले कन्ट्रोल रुम खडा गरेर लम्पी स्किन रोगको जानकारी लिँदै आएको र यस रोगविरुद्धको खोप एक लाख ३० हजार पशुलाई दिइएको जानकारी दिए । उनले कृषि तथा पशुपक्षी विकास मन्त्रालयका १० वटा कार्यक्रमको बजेट शून्य हुँदा एक सय ५० वटा कार्यालय प्रभावित भएकोसमेत बताए ।

बैठकमा सांसदहरूले दुग्ध विकास संस्थान र कपास विकास समिति खारेज गर्नु गलत भएको भन्दै फजुल खर्च उत्पादनमा लगाउन, बाँदर आतङ्क नियन्त्रण गर्न, किसानको उत्पादन बजारीकरण गरिदिनुपर्ने र रासायनिक मलको विकल्प खोज्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो । त्यसैगरी बैठकमा सांसदहरूले मलको कालोबजारी, किसानले कृषि तथा पशु बीमा गर्न नपाएको, सरकारले मलखाद खरिदलाई सहज बनाउन नसकेको र किसानको आवश्यकतामा अनुदान दिने गर्न नसकिएको बताए ।

Ads

सम्बन्धित पोष्टहरू