Ads

परम्परागत जीवनशैली भत्किँदै


झापा \पूर्वी तराईमा जाडो समयमा लोकप्रिय खाद्यपरिकारको रुपमा प्रचलित हुने गर्छ, भक्का । राजवंशी, ताजपुरीया लगायतका आदिबासीको परम्परागत परिकारले अन्य सवैलाई लोभ्याई सकेको छ । यसले क्रमश: व्यवसायीकता पनि पाउन थालेको छ । तर यसको प्रमुख कच्चा पदार्थ चामलको पिठो परम्परागत रुपमा छाम तथा गहिनमा कुटेर तयार पारिन्थ्यो । अचेल आधुनिक मिल आए पछि भने भक्का चिन्ने पुस्ताले छाम र गहिन चिन्न छोडेको छ ।
पचासको दशक सम्म झापा, मोरङ्, सुनसरी लगायतका जिल्लामा पाहुनालाई खाटमा स्वागत गर्न पाटाको झल्ला ओछ्याईन्थ्यो । जसरी पहाड तिर राडि ओछ्याएर पाहुनाको स्वागत गरिन्थ्यो त्यहि राडिको ठाउ लिने गथ्र्यो तराईमा झल्लाले । झल्ला निर्माणको श्रोतनै पाटा (सनपाट) हो । तर पाटाको खेतीनै लोप हुन थाले पछि झल्ला पनि बिरानो बनेको छ । अचले प्लाष्टिकका सुकुल चिन्नेहरुले झल्ला नदेखेको पनि धेरै भयो ।

आधुनिकता र व्यसायीकताको प्रभाव एकातिर छ भने नयाँ पुस्तामा प्रविधि र परम्परा हस्तान्तरण नहुँदा कयौ मौलिक संस्कारसँगै जीवनशैलीका अंग बनेका चलन र सामाग्री पनि हराउँदै गएका छन् । झापा गौरादहकी लक्ष्मी ताजपुरियालाई छाम र गहिनभन्दा आधुनिक मिल सजिलो भएको छ ।

ज्याला मजदुरी गरी खाने फूलवती ताजपुरियालाई घरको छाम र गहिनभन्दा आधुनिक पिठो कुट्ने मिलमा पुगेर पिठो कुटेर ल्याउन सजिलो लाग्छ । अहिले गाउँगाँउमा विकास र परिवर्तनसँगै ताजपुरिया र राजवंशी समुदायले परम्परादेखि प्रयोग गर्दै आएका छाम र गहिन चलाउन छाडेका छन् ।कुटानी र पिसानीका लागि चलाउन छाडेपछि छाम र गहिन मात्र होइन आदिवासी समुदायका झल्ला, ढोक्सा, छिटीजाल, भेर्का र पेल पनि लोप हुने अवस्थामा पुगेका छन् ।

सहरीकरण र कच्चा पदार्थको अभाव
परम्परागत सामाग्रीहरुको उपयोग हराउँदै जानुको मुख्य कारण कच्चा पदार्थको अभाव पनि हो । चामल तथा मसलाहरु कुट्ने ओखल भनेर चिनिने भाँडो बनाउन पहिले प्रशस्त काठ पाईन्थ्यो । जंगल फाँडेर बसोबास गरेको समुदायका लागि रुखको अभाव थिएन । जति पनि र जस्ता पनि रुख काट्न पाईन्थ्यो । तर क्रमिक रुपमा भएको बस्ति विकास, सहरीकरणले जंगल मासियो । रुख पाईन छोड्यो । त्यसैले अचेल कुटानी–पिसानीका लागि मिलनै रोज्नु परेको झापा कमल–६ का गंगा ताजपुरीयाले बताए ।

यस्तै गौरादहकी लक्ष्मीले भनिन्– ‘कासाने कुटी ठाकाट्नी ठिकिट्गे, छाती बहे जाछे रुपेना….. बोलको गीत गाउँदै पहिला पहिला बेहुला–बेहुलीलाई लगाइदिने बेसार पनि यसमा नै कुट्ने गरिन्थ्यो । विवाहमा कासाको दिन पेटानी, छिटेर उरमाल, चाँदीका विच्छी, चुरा, सिप्ती तार र वाक लगाएर छाममा नै पिठो कुट्नु अनिवार्य मानिन्थ्यो । यसैमा कुटिएका चामल, पिठो, चिउरा आदि मात्र विवाहका लागि उपयोगी मानिन्थ्यो । तर समय परिवर्तनसँगै आफ्नो कला–संस्कृति लोप हुन लाग्दासमेत कसैलाई वास्ता छैन ।’

आधुनिकताले अल्छि
छाममा कुटिएका खाद्य पदार्थ स्वस्थ्यवर्धक र स्वादिष्ट पनि मानिन्थ्यो । भालेको डाकसँगै छाममा धान, पिठो आदि कुट्ने परम्परा ताजपुरिया समुदायमा थियो । ठाकुर वरमानी र ग्राम पूजा गर्ने यो समुदायले मङ्सिरमा नयाँ खाने भनेर नयाँ धान यसैमा कुट्ने अनि छाम र गहिनलाई केरा, पानसुपारी, गाईको दुुध र लारु लड्डुले यसको पूजा पनि गर्ने चलन थियो । आधुनिक जीवन शैलीले परम्परा संकटमा पार्नुका साथै मानिसलाई अल्छि पनि बनाएको समाजका अगुवाहरु बताउँछन् ।

ताजपुरिया समुदायका नयाँ पिँढीमा काम गर्ने जाँगर हराउँदै गएको छ भन्दै ताजपुरिया समाज कल्याण परिषद्का पूर्व केन्द्रीय अध्यक्ष गङ्गाराम ताजपुरियाले वर्षौं पुरानो कलासंस्कृति लोप हुन थालेपछि आफू चिन्तित बनेको बताए । नयाँ पुस्तामा संस्कार र शैली हस्तान्तरण नगर्दा पुर्खा देखिको बिरासत बिर्सिने अवस्थामा पुगेको उनको भनाई छ ।

ताजपुरिया समुदायका कला–संस्कृति संरक्षणका लागि सरकारी स्तरबाट पनि व्यवहारिक रूपमा कुनै तहका पाठ्यपुस्तकमा समावेश नगरिएकाले पनि यो ताजपुरिया समुदायको कलासंस्कृतिको लोपहुने अवस्था आएको बताउँदै गौरीगन्ज बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सर्वतलाल राजवंशीले तत्काल यिनीहरूको संरक्षण र पुस्ताहस्तान्तरणमा नलागे आदिवासी समुदायका छाम र गहिन अनि कलासंस्कृति नयाँ पिँढीका लागि इतिहासमा मात्र सिमित हुने दुःखेसो पोखे ।

झल्ला बन्योघाटाको व्यवसाय
झल्ला खाटमा ओछ्याउन प्रयोग गरिन्छ । यो पाटाबाट बनाइन्छ । झल्ला तिता पाटा वा तोसा पाटाबाट बनाइन्छ । तिता पाटाबाट बुनेर बनाइएको झल्ला राम्रो हुन्छ । तिता पाटाबाट बनाइएको झल्लामा भुवा आउँदैन । सामान्यतया एउटा झल्ला तीन फाटीको हुन्छ । एक फाटीमा ६ हात लम्बाइ र सवा हात चौडाइ हुन्छ । एउटा झल्ला बनाउन तीन किलो पाटा लाग्छ । यसका लागि एकजनालाई धागो बुन्न १५ दिन, तान हाल्न एक घन्टा र एउटा झल्ला बुन्न दुई दिन लाग्छ ।

पाटाप्रति किलो एक सय २० रुपियाँ पर्छ । एउटा झल्ला बन्न तीन सय ६० रुपियाँको पाटा लाग्छ । दैनिक हाजिरा पाँच सय छ । एउटा झल्लाको लागि धागो बुुन्न सात हजार पाँच सय रुपियाँ हाजिरा पर्छ । यसरी एउटा झल्ला बनिसक्दा सात हजार आठ सय रुपियाँ खर्च हुन्छ । अझ यसमा रङ पनि लाग्छ । बजारमा एउटा झल्ला १५ सयदेखि दुुई हजार रुपियाँ पर्छ । मिहिनेत र लागत हेर्दा झल्ला बनेर बेच्नु् घाटाको व्यवसाय भएको पर्शु राजवंशी बताउँछन् ।

 

 

Ads

सम्बन्धित पोष्टहरू