काठमाडौँ । आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेपालले सुरूवाती तीन खेल मध्ये दुई खेलमा हार बेहोरेको छ।
समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा आयोजक जिम्बावेसँग ८ विकेटको हार बेहोरेको थियो। दोस्रो खेलमा नेपालले अमेरिकामाथि ६ विकेटको जित निकाल्दै महत्वपूर्ण दुई अंक जोड्यो। यहि जितका कारण नेपालको सुपर-सिक्स सम्भावना कायमै बनेको छ।
तेस्रो खेलमा दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजसँग निडर प्रदर्शन गरेको नेपाल १०१ रनले पराजित भयो।
नेपालले अब नेदरल्यान्ड्सविरुद्धको अन्तिम खेलमा जित निकाल्नु पर्ने चुनौती रहेको छ। नेदरल्यान्ड्स र नेपालले अमेरिकालाई हराएकाले दुबैको शीर्ष तीनको सम्भावना कायम छ।
नेपालसँग अब समूहको अन्तिम खेल मात्र बाँकी रहेकाले शनिबार नेदरल्यान्ड्सविरुद्धको निर्विकल्प जित नेपालका लागि अनिवार्य छ। तर, समूहको शीर्ष तीनमा रहन नेपालले नेदरल्यान्ड्सलाई पराजित गरेर मात्र पुग्दैन। नेदरल्यान्ड्सको अर्को खेलको नतिजासमेत कुर्नुपर्ने छ। अर्थात नेदरल्यान्डका दुई खेल बाँकी छन्।
यस्तोमा नेपालसँग पराजित भएमा र वेस्ट इन्डिजसँगको अन्तिम खेल पनि हारेमा भने नेपाल अङ्ककै आधारमा शीर्ष तीनमा रहन्छ। तर, नेपालले नेदरल्यान्ड्सलाई हराएमा र नेदरल्यान्ड्सले वेस्ट इन्डिजलाई जितेमा भने नेट रनरेटमा माथि रहने टिमले ‘सुपर सिक्स’मा स्थान पक्का गर्नेछन्।
तर, दुवै टिमको शीर्ष तीनको सम्भावनालाई केही हदसम्म शनिबार हुने खेलले तय गर्नेछ। यदि नेपाल पराजित भएमा एक खेलअगावै नेदरल्यान्ड्सले समूहको शीर्ष तीनमा स्थान बनाउँदै ‘सुपर सिक्स’को यात्रा तय गर्नेछ। तर, नेपालले जितेमा भने नेदरल्यान्ड्सलाई विश्व विजेता वेस्ट इन्डिजमाथि जित निकाल्नै पर्ने दबाब बढ्ने छ।
समूह ‘ए’मा अहिलेसम्म जिम्बाब्वे र वेस्ट इन्डिजले लगभग शीर्ष तीनको यात्रा तय गर्दा अमेरिका प्रतियोगिताबाट बाहिरिएको छ। त्यसैले अब नेपाल र नेदरल्यान्ड्समध्ये एक टोलीले विश्वकपको सुपर सिक्समा स्थान बनाउने भएकाले शनिबार नेपाल र नेदरल्यान्ड्सबीचको खेल बहुप्रतिक्षित रहेको छ।
यस्तो छ समूहको लिग अंक तालिका
१० टिम सहभागी प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। समूहमा नेपालसहित दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, आयोजक जिम्बावे, नेदरल्यान्ड्स र अमेरिका छन्। समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई रहेका छन्।
पाँच-पाँच टिमको दुई समूहका लिग खेलपछि सुपर सिक्स हुनेछ। सुपर सिक्समा दुवै समूहका शीर्ष तीन-तीन टिम पुग्नेछन्।
सुपर सिक्समा एक समूहका तीन टिमले अर्को समूहका तीन टिमसँग खेल्नेछन्। जहाँ शीर्ष दुईमा पर्न सक्ने टिम आगामी अक्टोबर-नोभेम्बरमा भारतमा हुने आइसिसी विश्वकप क्रिकेटमा छनोट हुनेछन्।
प्रतिक्रिया दिनुहोस्