Ads

वैदेशिक प्रशिक्षणका लागि गल्फ टोली आज भारत जाँदै


काठमाडौं । १९औँ एसियाली खेलकुद (एसियाड)का लागि छ सदस्यीय गल्फ टोली आज  शनिबार वैदेशिक प्रशिक्षणका लागि भारतको बैङ्लौर जाने भएको छ । प्रोफेसनल गल्फर शुक्रबहादुर राई र एमेच्योर गल्फर सुवास तामाङ, सद्भाव आचार्य र युवराज भुजेल तथा महिला गल्फ खेलाडी कश्मिरा शाह र सुष्मा सिग्देलसहित छ सदस्यीय नेपाली टोली भारतको तरुण सरदेसाई गल्फ एकेडेमीमा तीन महिनाको विशेष प्रशिक्षणमा सहभागी हुनेछ ।

नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङ र नेपाल गल्फ सङ्घका अध्यक्ष टासी घलेले आज यहाँ आयोजित कार्यक्रममा बिदाइ गर्नुभयो । नेपाल नम्बर १ प्रो राई हाल जर्मनीको ड्रेसडेनमा प्रशिक्षणमा रहेका छन् र उनी एक महिनापश्चात बैङ्लौर पुग्ने नेपाल गल्फ सङ्घका सदस्य तथा युवा विकास निर्देशक दीपक आचार्यले जानकारी दिए ।

गल्फ खेलाडीले प्रशिक्षणको क्रममा फिजिकल फिटनेस, न्युट्रिसन र मनोवैज्ञानिकसत्रका साथ तालिम लिनेछन् । गल्फ खेलाडी आगमी सेप्टेम्बर २० तारिखसम्म तरुण सरदेसाई गल्फ एकेडेमीमा रहने छन् र सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म चीनको हुने हाङ्झाओमा हुने एसियाली खेलकुदमा सहभागी हुनेछन् । एकेडेमीका निर्देशक तथा पूर्वभारतीय प्रोफेसनल गल्फर तरुण सरदेसाईको नेतृत्वमा प्रशिक्षण हुनेछ । प्रशिक्षण दौरान प्रत्येक साता प्रतियोगिता पनि हुने जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू