Ads

मंगलबार जीप दुर्घटना परि मृत्यु भएका मन्त्री सिंह दम्पतीको आज दाहसंस्कार गरिँदै


बझाङ । बझाङमा मंगलबार जीप दुर्घटना परि मृत्यु भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वी बहादुर सिंह र उनकी पत्नी अमृतादेवी सिंहको आज अन्त्येष्टी गरिने भएको छ । आज जिल्ला अस्पतालदेखि चैनपुर बजार परिक्रमा गराई नेपाली कांग्रेस पार्टी कार्यालयमा शोक तथा श्रद्धाञ्जली अर्पण गरेर दिउँसो सेती नदीस्थित धौला बगर मसान घाट डुंग्रीमा अन्त्येष्टी गरिने जनाइएको छ ।

मन्त्री सिंहका कान्छा छोरा नर्वेबाट आउन समय लागेकाले चार दिनपछि आज अन्त्येष्टी गरिन लागिएको हो ।अन्तिम श्रद्धाञ्जली दिन काङ्ग्रेसका सहमहामन्त्री बद्री पाण्डेय, परराष्ट्र मन्त्री एनपी साउद,सुदूर पश्चिमका मुख्य मन्त्री कमलबहादुर शाह, प्रदेशका मन्त्री तथा सांसदहरु बझाङ पुग्दैछन् ।

डडेल्धुराबाट गृह जिल्ला बझाङ आउने क्रममा मंगलबार मन्त्री सिंहसहित उनकी श्रीमती अमृतादेवी सिंह र भाउजू जयादेवी सिंहको दुर्घटनामा परि मृत्यु भएको थियो । मन्त्री सिंह सवार सुपप्र ०१ ००१ झ ४८० नम्बरको जीप मंगलबार दिउँसो साढे १ बजे केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने स्थानमा दुर्घटनामा परेको थियो ।

मन्त्री सिंहलाई कोहलपुर मेडिकल कलेजले मृत घोषणा गरेको थियो भने श्रीमती र भाउजुको घटनास्थलमै मृत्यु भएको थियो । मन्त्री सिंहका गाडी चालक धर्मराज जोशी र मन्त्रीका पिएसओ प्रहरी सहायक हवल्दार दिपक भण्डारीको थप उपचारका लागि कोहलपुरबाट काठमाडौं लगिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू