झापा / नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले आज झापा बिर्तामोडका नवराज विमलीको घर कब्जामा लिइएको घोषणा गरेका छन ।
लघुवित्त, बैङ्क तथा वित्तीय संस्था र मिटरब्याजी विरुद्ध आन्दोलनसहित चेतावनी दिँदै आएको सो पार्टीले बिर्तामोडमा प्रदर्शनसहित विमलीको घर कब्जामा लिएको हो ।
नेपाल कम्युनिस्ट पार्टीका मेची ब्युरो इन्चार्ज सुमनसिंहको नेतृत्वमा गएका नेता कार्यकर्ताहरूले विमलीको घरमा कालो ब्यानर राख्दै कब्जामा लिएको घोषणा गरेका छन् । विमलीको घरमा पुगेका उनीहरूले विभिन्न नाराबाजी समेत गरेका छन् ।
विमलीले धेरै नागरिकहरुलाई घरबारविहीन बनाएको, चरम शोषण गर्दै आत्महत्या गर्न बाध्य पारेको, शक्तिको चरम दुरुपयोग गर्दै गुन्डा प्रयोग गरेर पीडितहरूलाई धम्क्याएको आरोप नेकपाले लगाएको छ । उनले लुटेका सबै सम्पत्ति फिर्ता नगरेसम्मका लागि उनको घर कब्जा गरिएको नेकपाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्