Ads

नागरिकता माग गर्दै आत्मदाहको प्रयास गरेका निरजले पाए नागरिकता


काठमाडाैँ । नागरिकता माग गर्दै आत्मदाहको प्रयास गरेका मोरङ कटहरी गाउँपालिकाका निरजकुमार कामतले नेपाली नागरिकताको प्रमाणपत्र पाएका छन्।

सोमबार मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रप्रसाद यादवले कटहरी गाउँपालिका–४ का कामतलाई नागरिकता प्रदान गरेका हुन्।

नागरिकता लिनका लागि निरज आवश्यक कागजातसहित बुवा किसनदेव कामतलाई लिएर प्रशासन कार्यालय पुगेका थिए। नागरिकता पाएपछि निरजले भने, ‘विगत चार वर्षदेखिको संघर्षको परिणाम सुखद भएको छ। नेपाली नागरिक बन्नका लागि ठूलो संघर्ष गरियो। राज्यले अन्त्यमा हाम्रो आवाज सुनेको छ। अब म यही नेपालको नागरिक हुँ भनेर भन्न सक्ने अवस्थामा पुगेको छु।’

नागरिकता हस्तान्तरण कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारीहरु शरदकुमार पोखरेल र प्रदीप साह उपस्थित थिए। नागरिकताका लागि सोमबार बिहानबाट कार्यालय परिसरमा भीड रहेको छ।

मोरङ जिल्लाका सहायक प्रजिअ पोखरेलका अनुसार २०६३ सालको नागरिकता वितरण टोलीको आँकडाले करिब ३५ हजारले जन्मको आधारमा नागरिकता लिएका छन्।

सहायक प्रजिअ पोखरेलले भने, ‘विगतको नागरिकता वितरण टोलीबाट मोरङमा करिब ३५ हजारले जन्मका आधारमा नागरिकता लिएको बुझिएको छ। त्यसअनुरुप हेर्दा वंशजका आधारमा अब मोरङमा नागरिकताका लागि करिब ८० हजारको आवेदन पर्नसक्ने देखिएको छ।’

Ads

सम्बन्धित पोष्टहरू