काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा फरार रहेका थप एक जना अभियुक्त सोमबार पक्राउ परेका छन् । प्रहरीले सोमबार अभियुक्त आशिष बुढाथोकीलाई काठमाडौंको मण्डिखाटारबाट पक्राउ गरेको प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।
यो प्रकरणमा अभियुक्त बनाइएका ३० जनामध्ये बुढाथोकी पनि एक हुन् । बुढाथोकीको बैंक खाताबाट कारोबार रहेको पाइएपछि प्रहरीले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । तर, अन्य अभियुक्तविरुद्धको थुनछेक बहस सकिई १६ जनालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाइसकेको छ भने दुई जनालाई धरौटीमा रिहा गरेको थियो ।
यो प्रकरणमा पक्राउ पर्ने बुढाथोकी १९ औँ अभियुक्त हुन् । यसअघि टोपबहादुर रायमाझीका बाबुछोरा, बालकृष्ण खाँण, उनी मन्त्री हुँदा उनका पीए नरेन्द्र केसीलगायत १८ जना पक्राउ परेका थिए । तीमध्ये लक्ष्मी महर्जन र टंक गुरुङ धरौटीमा रिहा भए भने अरु पुर्पक्षका लागि जेल चलान भएका छन् । यो प्रकरणमा अझै ११ जना अभियुक्त फरार छन् ।
प्रतिक्रिया दिनुहोस्