दाङ । दाङकाे घोराही उप-महानगरपालिकाले आइतबार सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा १५ नम्बर वडाबासीले असन्तुष्टी जनाएका छन्। वडाबाट छनोट भएका योजनाहरु बजेटमा समावेश नभएको भन्दै १५ नम्बर वडाका टोल विकास समिति र वडाका जनप्रतिनिधिहरुले सोमबार उप-महानगरको कार्यालयमा पुगि उप-प्रमुख हुमा डिसीलाई ज्ञापन पत्र बुझाएका हुन् ।
वडा सदस्य लेखनाथ बुढाथोकीले ज्ञापन पत्र पढेर सुनाएपछि वडाध्यक्ष रमेशकुमार पाण्डेले उपप्रमुख डिसीलाई ज्ञापन पत्र बुझाएका हुन् । बजेट निर्माणका क्रममा वडाध्यक्षसँग समन्वय हुनुपर्नेमा कुनै समन्वय नगरेकोले यसमा आफ्नो सहमति नभएको वडाध्यक्ष पाण्डेको भनाइ छ। ज्ञापन पत्र बुझ्दै उपप्रमुख डिसीले एउटा मात्रै वडालाई नभएर समग्र १९ वटै वडालाई सम्बोधन गर्ने क्रममा केही छुटेको भए उप-महानगरको ध्यानाकर्षण भएको बताए।
सम्पूर्ण प्रशासनिक कार्यालय र घोराहीको मुटु मानिने १५ नम्बर वडालाई बजेटले सम्बोधन गर्न नसकेको ज्ञापन पत्रमा उल्लेख छ। घोराही बजारमा ढल निकास, पोल, तारको व्यवस्थापन लगायतका योजनामा ठोस बजेट उल्लेख हुनुपर्ने वडाबासीको माग छ। आफ्ना माग सम्बोधन नभए चरणबद्ध आन्दोलन गरी अन्य कुनै योजना कार्यान्वयन समेत नगर्ने वडाबासीले चेतावनी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्