काठमाडाैँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले यस वर्ष धानका लागि रासायनिक मलको अभाव नहुने बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा भुसालले हाल देशभरका कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनका डिपोहरूमा ७८ हजार ४२२ मेट्रिक टन मल मौज्दात रहेको बताए । असार महिनाको अन्त्यसम्ममा थप ४५ हजार मेट्रिकटन र साउन महिनाभित्र थप ७५ हजार मेट्रिकटन रासायनिक मल प्राप्त हुने उनको भनाइ छ ।
मन्त्री भुसालले आगामी आर्थिक वर्षको लागि रासायनिक मल खरिद गर्न ३० अर्ब रुपैयाँ रकम सुनिश्चित गरिएको जानकारी दिए ।
‘चालु आर्थिक वर्षको लक्ष्यअनुसार कुल ४ लाख ७८ हजार ५०० मेट्रिक टन रासायनिक मल खरिदको सम्पूर्ण प्रक्रिया समयमै सम्पन्न गरिएको छ । त्यसमध्ये ३ लाख ५१ हजार मेट्रिक टन आयात भइ बिक्रि, वितरण भइरहेको छ,’ भुसालले भने, ‘हाल ७८ हजार ४२२ मेट्रिक टन मल देशभरका कृषि सामग्री कम्पनीका ४१ र साल्ट ट्रेडिङ कर्पोरेशनका २४ डिपोहरूमा मल मौज्दात रहेको छ ।’
मन्त्री भुसालले लम्पिस्किन रोग नियन्त्रणका लागि सरकारले सम्भव भएसम्मका कामहरू अगाडि बढाएको बताए । हालसम्म ६ लाख ११ हजार २०९ पशु संक्रमित भएका र संक्रमितमध्ये २१ हजार ४७३ पशुको मृत्यु भइसकेको उनको भनाइ छ । ३ लाख ५४ हजार ५७३ पशु लम्पिस्किन रोगबाट निको भइसकेको उनले बताए ।
‘अहिले देशैभरी गाईभैँसीमा लाग्ने एउटा संक्रामक रोग फैलिएको छ । लम्पिस्किन रोग भनिने यो रोग नयाँ प्रकारको सरुवा रोग हो । नेपालमा यो रोग पहिलो पटक २०७७ मा देखापरेको थियो,’ भुसालले भने, ‘यस वर्ष मनाङबाहेक सबै जिल्लामा देखा परेको छ ।’
लम्पिस्किन रोगको खोप जोर्डन, तान्जनिया र टर्कीबाट भ्याक्सिन आयात गरिरहेको भुसालको भनाइ छ । हालसम्म ७ लाख ३७ हजार डोज खोप ल्याइएको र असार १० गतेसम्म १ लाख ६२ हजार ३७१ पशुलाई खोप लगाइएको उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्