काठमाडौँ । प्रतिनिधिसभामा बजेटमाथि पहिलो पटक मतदान भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको माग अनुसार आर्थिक वर्ष २०८०/०८१ को विनियोजन विधेयक (बजेट) पारित गर्नका लागि मतविभाजन गरिएको हो ।
नेकपा एमालेले मत विभाजन माग गरेपछि भएको मतदानमा विनियोजन विधेयकको पक्षमा १४७ मत पर्यो । जुन प्रतिनिधिसभाको बहुमत हो ।
बजेटका विषयमा २०४७ मा बहुदलीय व्यवस्था पुनर्स्थापनापछि यसरी मत विभाजन गरिएको पहिलो अभ्यास हो ।
संसदका पूर्वसचिव सोमबहादुर थापाले २०४८ सालयताको संसदीय अभ्यासमा पहिलो पटक मत विभाजनबाट बजेट पारित गरिएको हो ।
‘२०११ सालमा परराष्ट्र मन्त्रालयअन्तर्गतको बजेटमा १ रुपैयाँ कटौती प्रस्ताव सल्लाहकार परिषदबाट पारित भएपछि तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले राजीनामा दिएका थिए । तर त्यो संसद नभइ सल्लाहकार परिषद थियो, ‘२०४८ सालयता अहिले पहिलो पटक मत विभाजना गरियो ।’
यसअघिका वर्षहरूमा ध्वनीमतका आधारमा बजेट पारित हुने गरेका थिए । बुधबारको बैठकमा सभामुख देवराज घिमिरेले ध्वनीमतले बजेट पारित गर्न खोज्दा एमालेका सचेतक महेश बर्तौलाले मत विभाजनको माग गरेका थिए ।
उनीको माग लगत्तै सभामुख घिमिरेले मत विभाजनको प्रक्रिया सुरु गराएका थिए । यसअघि नै सत्तारुढ दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीसहितका दलहरुले बजेट हुबहु पारित गर्न ह्विप जारी गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्