विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेशमा सरकारको नेतृत्व आफैले लिने भएको छ । मुख्यमन्त्री हिकमतकुमार कार्कीले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा विश्वासको मत नदिने निर्णय गरेसंगै सरकारको नेतृत्व माओवादीले नै लिने निर्णय भएको संसदीय दलका एक नेताले बताए ।
उनले भने, ‘मुख्यमन्त्रीले विश्वासको मत पाउनुहुन्न, उहाँ पदमुक्त हुनुहुन्छ, त्यसपछि नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया अगाडि बढ्छ, प्रदेश प्रमुखले सरकार गठन आह्वान गरेपछि केन्द्रीय गठबन्धन र यहाँको गठबन्धन बसेर निर्णय गर्छौं’ ।’मुख्यमन्त्री कार्कीले आज प्रदेश सभामा विश्वासको मत लिने तयारी गरेका छन् । कार्कीले विश्वासको मत
माग्दै कोशी प्रदेशसभामा सहभागी सबै दललाई पत्र पठाएका छन् । नेकपा एमाले संसदीय दलको तर्फबाट पत्र लेख्दै उनले प्रदेश संरचनाको स्थायित्व, सुशासन र नागरिकको अपेक्षा पूरा गर्नका लागि र पटकपटक सरकार परिवर्तनको खेलले नागरिकमा निराशा उत्पन्न हुने बताएका छन् ।
यसअघि नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले पनि मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेका छन् । ९३ सदस्यीय कोशी प्रदेशसभामा विश्वासको मत पाउन ४७ मत आवश्यक पर्छ । मुख्यमन्त्रीको दल नेकपा एमालेसँग ४०, सत्ता सहयात्री दल राप्रपाको ६ सिट छ । त्यसैले मुख्यमन्त्रीलाई प्रदेशसभाको विश्वास आफूमाथि छ भन्ने पुष्टि गर्न थप एक मत आवश्यक पर्नेछ ।
प्रतिक्रिया दिनुहोस्