जननेता मदन भण्डारीको आज ७२ औं जन्म जयन्ती । नेपाल कन्युनिष्ट पार्टी ९एमाले० का साथै विभिन्न दलका नेता तथा कार्यकर्ताले उनको सम्झना गर्दै विविध कार्यक्रमको आयोजना गरिएको छ । सामाजिक सञ्जालमा मदन भण्डारीको तस्वीरले छाएको छ।
जननेता भण्डारी मार्गनिर्देशक सिद्धान्त जनताको बहुदलीय जनवादका प्रतिपादक । कार्लमार्क्सको साम्यवादी दर्शनलाई पूँजीवादीहरुले आलोचना गरिरहेकै बेला मार्क्सवादको सिर्जनात्मक प्रयोग गर्नुपर्छ भन्दै जननेता भण्डारीले बहुदलीय जनवादको प्रतिपादन गरेका थिए ।
भण्डारीको जन्म २००९ साल असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको थियो । पिता देवीप्रसाद भण्डारी र माता चन्द्रकलाका माहिला छोराका रुपमा उनी जन्मिएका हुन् । भण्डारी नेपाली कम्युनिष्ट आन्दोलनका बहुचर्चित व्यक्तित्व मानिन्छन् । बहुदलीय जनवादको प्रयोगसम्बन्धी जननेता भण्डारीले दिएको भाषणका बारेमा पश्चिमी सञ्चार माध्यमले नेपालमा मार्क्स जिवितै छन् भन्ने टिप्पणीसमेत गरेका थिए । २०४६ सालको जनआन्दोलनपछि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवाद–लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी ९मार्क्सवाद० बीच पार्टी एकता गरी नेकपा ९एमाले० गठन गर्न नेता भण्डारीले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
तत्पश्चात जनताको बहुदलीय जनवादको नारा लिएर चुनावमा गएको नेकपा एमालेले मनमोहन अधिकारीको नेतृत्वमा पहिलो कम्युनिष्ट सरकार गठन गरी नेपाली कम्युनिष्ट आन्दोलनलाई सफलताको बाटोमा अघि बढाएको मानिन्छ। आज पनि नेपाल कम्युनिष्ट पार्टी (एमाले) जनताको बहुदलीय जनवादकै सिद्धान्तमा अडिग रहेको देखिन्छ।
नेपाली राजनीतिको आशा र चर्चाको शिखरमै रहेका बेला २०५० जेठ ३ गते चितवनको दासढुंगामा भएको जीप दुर्घटनामा एमालेका तत्कालीन महासचिव जननेता भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो । जननेता भण्डारी र आश्रितको निधनको कारण भने अझै रहस्यकै गर्भमा छ । जननेता भण्डारीको जीवनमा ढुंगैढुंगाको संयोग छ । उनी ताप्लेजुङको ढुंगेसाँघुमा जन्मिए। उनी जन्मिदाको क्षण पनि अनौठो छ । भण्डारीकी आमाले ढिकी कुटिरहेकै बेला उनी ढुंगाको ओखल नजिकै जन्मिएका स्थानीय बूढापाकाहरु बताउँछन् ।
ताप्लेजुङ पहाडी जिल्ला । ढुंगै ढुंगाको पाखापखेरो । उनी त्यही ढुंग्यान पखेरोमा हुर्किए। भण्डारी पढाइसँगै राजनीतिमा सक्रिय हुन थाले। अध्ययन र राजनीतिको सिलसिलामा उनी भारतका विभिन्न ठाउँमा समेत बसे । राजनीतिक जिम्मेवारीसँगै उनी काठमाडौं आए। काठमाडौं आएपछि उनी शुरुमा काठमाडौंको कलंकीस्थित ढुंगेअड्डामा बसे । जननेता भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद पार्टीभित्र सहजै स्वीकार भएको थिएन । त्यसलाई पार्टीको सिद्धान्त बनाउन ठूलै संघर्ष गर्नुपरेको थियो । उनको तार्किक शैली र चट्टानी अडानकै कारण जनताको बहुदलीय जनवाद एमालेको सिद्धान्त बन्न पुगेको हो ।
४१ वर्षको उमेरमै विभिन्न आरोह–अवरोह पार गर्दै राजनीतिमा अन्तर्राष्टियस्तरसम्म पुगेका जननेता भण्डारीको निधन पनि अन्ततस् ढुंगासँग सम्बन्धित ठाउँमा नै हुनपुग्यो । चितवनको दासढुंगामा उनको देहान्त भयो । भनिन्छ–ढुंगाको काप फोरर पनि उम्रिन्छ पिपल । जननेता भण्डारीको जीवन यस्तै सावित भएको छ। जननेता भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद राजनीतिमा विभिन्न ढुंगा छिचोल्दै नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को मार्ग निर्देशन बन्न पुगेको छ। कम्युनिष्ट आन्दोलनमा उनले ल्याउनु भएको यो अवधारणा युगौं युगसम्म रहोस्–चट्टान जस्तै ।
प्रतिक्रिया दिनुहोस्