Ads

अब आफैँ फिल्म निर्माणको तयारीमा ‘बले’


काठमाडौँ ।  चर्चित हाँस्य टेलिश्रृंखला ‘भद्रगोल’ र ‘सक्किगोनि’मा निर्वाह गरेको ‘बले’ चरित्रले एकाएक चर्चामा आएका सागर लम्साल अब आफैँ फिल्म निर्माणको तयारीमा जुटेका छन् । केही समयदेखि उनी आफैँले फिल्मको स्क्रिप्ट लेखिरहेका छन् ।

आगामी वर्ष फिल्मको छायांकन सुरु गर्ने योजनामा लम्साल छन् । उनले निर्देशक समेत अनुबन्धित गरिसकेका छन् । तर, नाम भने खुलाउन चाहेनन् । कमेडी, एक्सन र लभस्टोरी कथामा बन्ने फिल्ममा आफ्नै मुख्य भूमिकामा रहने समेत उनले जानकारी दिए । नाम तय नभैसकेको फिल्मका लागि अभिनेत्रीको टुंगो लागेको छैन ।

‘बले’ले यसअघि केही फिल्ममा काम गरिसकेका छन् । ‘लोफर’बाट फिल्ममा ब्रेक पाएका उनले ‘लज्जा र हैरान’ फिल्ममा पनि अभिनय गरेका छन् । तर, ५ वर्षदेखि उनले अफर आएका फिल्म गरिरहेका छैनन् ।

फिल्मको प्रस्ताव नकार्नुको कारणबारे उनले भने, ‘केही फिल्मको अफर आएको थियो । तर, पहिला आफ्नै समुह (सक्किगोनि) र आफ्नै होम प्रोडक्सनको फिल्म गर्छु भनेर काम नगरेको हुँ । ‘सक्किगोनि’ समुहको यस वर्ष फिल्म निर्माण हुन्छ अनि म अर्को वर्ष आफ्नो फिल्म निर्माण गर्छु । त्यसपछि स्क्रिप्ट, क्यारेक्टर र टिम राम्रो लागेको खण्डमा बाहिरी ब्यानरको फिल्म पनि निरन्तर गर्छु ।’

कोरोना महामारीभन्दा अघि ‘सक्किगोनि’ समुहले ‘फनफनी’ नाममा फिल्म बनाउने तयारी गरेको थियो । निर्देशकमा निश्चल बस्नेत र अभिनेतामा विपिन कार्कीलाई फाइनल गरिएको थियो । तर पछि निश्चलले फिल्मबाट हात झिके । विपिन भने सम्झौतामै छन् । ‘फनफनी’ नाम ‘सक्किगोनि’ समुहबाट उम्किसकेको छ । एक निर्माताले यो नाम चलचित्र विकास बोर्डमा दर्ता गरिसकेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू