Ads

गठबन्धनकाे नयाँ कोर्स सुरु भैसक्याे, विश्वासको मत दिन सकिँदैन : आङ्बो


काठमाडाैँ। नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत दिन नसकिने बताएका छन् ।

मुख्यमन्त्री कार्कीले प्रदेशसभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा धारणा राख्दै आङ्बोले यस्तो बताएका हुन्।

आङ्बोले संघीय सरकारको गठबन्धनमा रहेका दललाई साथ दिनु आफूहरुको कर्तव्य रहेको बताए ।

राष्ट्रपति निर्वाचनका बेला केन्द्रमा गठबन्धन परिवर्तन भएपछि ढिलोचाँडो प्रदेश सरकारबाट आफूहरु बाहिरिनु पर्ने आङ्बोले बताए । आफूले सहज वातावरण बनाएर सरकारबाट बाहिरिएको पनि उनले दाबी गरे ।

‘जुन गठबन्धनले साथ दिएर त्यो सरकार बनेको छ । त्यो गठबन्धनले नयाँ राजनीतिक कोर्स सुरुवात गर्न आग्रह गरेपछि स्वभाविक रुपमा हामी त्यो आग्रहबाट बाहिर जान सक्दैनथ्यौं’ उनले भने ।

नेता आङ्बोले कोशी नामकरणको विपक्षमा रहेकाहरुको माग सम्बोधनका लागि नाममा पुनर्विचार गर्नुपर्ने बताए । उनले एमालेको व्यवहार र कार्यशैलीका कारण पनि सहकार्य टुटेको दाबी गरे ।

फेरि पनि सहकार्य गर्न सकिने बताउँदै उनले तत्कालका लागि भने एमाले नेतृत्वको सरकारलाई विश्वासको मत दिन नसकिने खुलाए ।

Ads

सम्बन्धित पोष्टहरू