गोरखा । गोरखामा प्रहरीले टल्कने ठूलो ढुङ्गा बरामद गरेको छ। गोरखा नगरपालिका–७ स्थित सीतपीपलबाट झन्डै ५४ किलोग्रामको टल्कने ठूलो ढुङ्गा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिए।
‘साइन स्टोन’ हो भन्ने जानकारी आएपछि प्रहरीको टोलीले सम्बन्धित घरमा उक्त ढुङ्गा बरामद गरेर ल्याएको छ”, उनले भने, “ढुङ्गा पूजाआजा र धर्मकर्ममा प्रयोग गरिरहेको रहेछ, प्रहरीलाई गोप्य ढङ्गबाट सूचना प्राप्त भएपछि घरबाट बरामद गरेर ल्याइएको हो, अहिलेसम्म हामीले हेर्दा बुझ्दा टल्कने ढुङ्गा भन्ने देखिएको छ।” ढुङ्गा हेर्दा पारदर्शी ‘क्रिस्टल’ जस्तो रहेको उनले बताए। “एकातिरबाट ‘लाइट’ बाल्दाभित्रैबाट अर्कोतिर वारपार हुन्छ”, प्रनाउ श्रेष्ठले भने, “अहिलेसम्मको अध्ययनमा ‘साइनिङ स्टोन’ हो भन्ने हाम्रो बुझाइ छ।”
उनले बरामद गरिएको ढुङ्गाका बारेमा भू–गर्भविद्सँग भिडियोमार्फत जानकारी लिएको र भू–गर्भविद्ले बरामद गरिएको वस्तु ‘वाच क्रिस्टल’ भएको हुनसक्ने बताएको जानकारी दिए। बरामद गरिएको टल्कने ढुङ्गा चोरी गरिएको नभई पुर्ख्यौलीरूपमा घरमा राखिएको अवस्थामा पाइएकोे प्रनाउ श्रेष्ठले जानकारी दिए।
“बरामद गरिएको वस्तु के हो भन्ने कुरा परीक्षणपछि मात्र थाहा हुन्छ”, उनले भने, “पुरातात्विक महत्त्वको हो भने राज्यले सङ्ग्रहालय वा अन्य आधिकारिक सरकारी निकायमा पठाउनेछ, बहुमूल्य हो वा होइन भन्ने कुरा परीक्षणपछि मात्र पत्ता लाग्छ, अहिले नै बहुमूल्य भन्ने मिल्ने अवस्था छैन ।”
प्रतिक्रिया दिनुहोस्